‘समुदायको अधिकारका लागि लड्दा रेशम चौधरीले झुठा मुद्दा खेप्नु पर्‍यो’

थारु समुदायलाई संघर्ष गर्नु पर्ने आवश्यकता

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सदियौँदेखि विभेदमा परेको थारु समुदायलाई अधिकार प्राप्तिको लागि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन् । थारु आयोगले सोमबार जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुक संघीय गणतन्त्रमा गएपनि कार्यन्वयन पक्ष इमान्दार नभएकोले संघर्ष अपरिहार्य रहेको उल्लेख गरे ।

संघर्ष नगरेसम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो भविष्य परिवर्तनका लागि थारुहरुमा लडने साहस जुटाउन आग्रह गरे । आयोग गठनमा समेत विभेद भएको बताउँदै उनले महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी, मुश्लिम जस्ता आयोगहरुलाई नदिइएको बताए ।

समुदायको अधिकारको लागि लड्दा रेशम चौधरीले झुठा मुद्दा खेप्नु परेको उल्लेख गर्दै उनले आन्दोलनको नाउमा दशौँ हजार मान्छे मार्नेहरु राज्य सत्ता संचालन गर्ने र निर्दोष रेशम चौधरीलाई जेलमा बस्नु पर्ने कहाँको न्याय हो भनि प्रश्न समेत गरे ।

आयोग गठन हुँदैमा थारु समुदायको भविष्य परिवर्तन नहुने उल्लेख गर्नु हुँदै उनले आयोगलाई बल पु¥याउन समेत थारु समुदायलाई संघर्ष गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।

मुख्यमन्त्री राउतले प्रदेश २को सरकारले सबै जात जातिलाई समान दृष्टिले हेर्ने प्रयत्न गरि रहेको उल्लेख गर्नु हुँदै प्रदेश सरकारले सबै निकायमा जनसंख्याको आधारमा प्रतिनित्वको सुनिश्चितता गरि रहेको बताए । आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं। २का थारु अगुवा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस