राज्य व्यवस्था समितिको बैठक आज बस्दै

लोकसेवाको विज्ञापनको बारेमा मन्त्री पण्डितसंग छलफल गरिने

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पूर्ति गर्ने उद्देश्यले जेठ १५ मा प्रकाशित गरेको विज्ञापनबारे राज्य व्यवस्था समितिले आज संघीय मामलिा तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग छलफल गर्ने भएको छ । 

यसअघि पनि समितिले मन्त्री पण्डितलाई छलफलका लागि आमन्त्रित गरेको थियो तर कार्यव्यस्तताका कारण उनि उपस्थित भएनन् । विज्ञापन समावेशी सिद्धान्त र संविधानको मूलमर्म विपरीत भएको भन्दै सांसदहरुले संसद बैठकमा आवाज उठाउनु भएपछि राज्य व्यवस्था समितिले यसबारे मन्त्री पण्डितसँग छलफल गर्न लागेको हो ।  

समितिकी सभापति शशी श्रेष्ठकाअनुसार बैठक अहिलेकेहिबेरमा सिंहदरबारमा बस्ने छ । समितिले विज्ञापनबारे यसअघि मन्त्रालयका सचिव र लोकसेवाका पदाधिकारीहरुसँग छलफल गरेको थियो । लोकसेवा आयोगले प्रदेश र स्थानीय तहमा पदपूर्ति गर्नेगरी नौ हजार ९६१ जना कर्मचारीको माग गरेको छ । प्रदेश लोकसेवा गठन नभएका बेला र प्रदेश कानुन समेत नबनिसकेको अवस्थामा संघबाट कर्मचारी पूर्ति गर्ने संवैधानिक तथा नीतिगत व्यवस्था छ ।  

सोही व्यवस्थाका आधारमा सरकारको निर्देशनमा आयोगले कर्मचारीको माग गरेको बताएको छ । विज्ञापन माग्दा संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै सांसद तथा सरोकारवालाहरूले आलोचना गर्दैआएका छन् ।


प्रतिकृया दिनुहोस