यी १४ जिल्लामा हतियारसहित देखियो विप्लवको लडाकु समूह

आन्तरिक सुरक्षामा चुनौती थपिएको सुरक्षा निकाएको निष्कर्ष

काठमाडौं । १४ जिल्लामा हतियारसहित विप्लवसमुहका लडाकु देखिएका छन् । नेपाल प्रहरी स्रोतका अनुसार १४ जिल्लामा विप्लवका लडाकु दस्ता हतियारसहित देखिएका हुन् । 

केही जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लडाकुको शंकास्पद गतिविधि देखिएको सुरक्षा निकायले बताएको छ । सुरक्षा निकायलाई प्राप्त ‘इन्टेलिजेन्स रिपोर्ट’ अनुसार पहाडी र चुरे क्षेत्रसँग जोडिएका जिल्लामा विप्लव समूहका लडाकु देखिएका हुन् । 

रातको समयमा सुरक्षाकर्मीको सहज उपस्थिति नभएका इलाकाहरुमा उनीहरु हतियारसहित देखा परेको बताइएको छ । एक उच्च सुरक्षा अधिकारीले भने, ‘‘विप्लव समूहको हतियासहितको गतिविधि बढेको सूचनापछि जनशक्ति बढाएका छौं । शंस्कापद स्थानमा छापा, जंगलमा सर्च अभियान पनि चलाएका छौं ।’’

सुरक्षा अधिकारीका अनुसार बर्दिया, भोजपुर, अछाम, सोलुखुम्बु, संखुवासभा, रुकुममा लडाकु समूहले आफ्ना गतिविधि बढाउँदै लगेको छ  । यस्तै कालीकोट, जुम्ला, जाजरकोट, मोरङ, उदयपुर, रोल्पा, कालीकोट र कैलालीमा पनि विप्लव समूहले हतियारसहितका गतिविधि गर्न थालेको पाइएको ती अधिकारीले बताए ।

लडाकु समूहमा पूर्व लडाकु, युवा, विद्यार्थी छन् । महिलाको संख्या निकै कम छ । राति गाउँमै खाना खाएर पार्टी सदस्यता विस्तार गर्ने लगायतका काम लडाकु समूहले गर्ने गरेको सुरक्षा निकायको भनाइ छ । तीन साता अघिमात्रै सिन्धुलीको एक गाउँमा राति नौ बजेपछि विप्लव समूहका लडाकु घरघरमा पसेर खाना पकाउन स्थानीयलाई आग्रह गरेको स्थानीयले बताएका छन् । 

विप्लव समूहका गतिविधिबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले गोप्य सूचना संकलन गरी प्राप्त विवरणको विश्लेषणबाट आन्तरिक सुरक्षामा चुनौती थपिएको निष्कर्ष निकालेका छन् ।

कर्णाली प्रदेशका कतिपय स्थानीय तहमा विप्लव समूहले कुल बजेटको दुई प्रतिशत बजेट आफ्नो जनसरकारका लागि छुट्याउन चेतावनी दिएका छन् । प्रहरी अधिकारीका अनुसार निर्वाचनपछि विप्लवले संगठन विस्तारमा तिव्रता दिएका छन् भने चन्दा आतंक डरलाग्दो रुपमा जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस