जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न नेकपालाई सकस, विहीबार टुंग्याइने

काठमाडौं । जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न बुधबारको नेकपा सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । 

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मापदण्डलाई लिएर विवाद हुँदा टंगोमा पुग्न नसकेको हो । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसहित दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो बिहीबार बिहान ९ बजे बस्ने बैठकबाट लगाइने भएको छ । 

मंगलबारको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न नसकेपछि बुधबारका लागि बैठक बोलाइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बुधबारको बैठकले समेत जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोक्न नसकेको हो । 

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ र हाल जिम्मेवारी नपाएका नेतालाई प्राथमिकता नदिइ दोहोरो जिम्मेवारी दिने गरी प्रस्ताव अघि बढाएपछि नेपाल पक्षधरले आपत्ति जनाएका थिए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी बाटो अपनाउने बताएका छन् । इञ्चार्ज तथा सहइञ्चार्ज तोक्दै जाँदा दोहोरो जिम्मेवारीका सन्दर्भमा हेर्न सकिने उनले बताए । सचिवालयका एक सदस्यले भने, ‘मन्त्री भएकालाई इञ्चार्ज नबनाउने भन्ने पनि निर्णय भएको छैन । बनाउने भन्ने पनि छैन । बीचबीचको बाटोबाट जान्छौं होला ।’

सचिवालयको अर्को बैठक बिहीबार बिहान ९ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘छलफल राम्रो भयो । तर, प्रधानमन्त्रीे अर्को कार्यक्रममा जानुपर्ने भएकाले निर्णयमा पुग्न सकिएन’, प्रवक्ता श्रेष्ठले भने, ‘भोलि बिहान ९ बजे पुनः बैठक बस्नेछ ।’ 

प्रतिकृया दिनुहोस