कांग्रेसको जागरण अभियान : महाधिवेशन टार्ने खेल हो की सुढुढीकरणको बहाना ?

‘गुटैगुटमा विभाजित भएको अवस्थामा जागरण अभियानले झन गुटमा विभाजित’

काठमाडौं । बैशाख २५ देखि सुरु भएको नेपाली कांग्रेसको जागरण अभियान जेठ २५ मा सकिँदै छ । त्यसपछि फेरि दुई चरणका अभियान हुँदैछ । आउने माघमा मात्रै कांग्रेसको जागरण अभियान सक्ने कार्यतालिका छ । 

जागरण अभियानका क्रममा पाल्पा पुगेका नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक राजनीति सुध्रँदै गएको दाबी गरे । अभियानले पार्टीको आन्तरिक विवाद समाधान गर्दै बाहिर पनि शसक्त रूपमा आएको उनको दाबी थियो । 

जागरण अभियानले पार्टी मजबुद भएको प्रवक्ता शर्माले दाबी गर्दै गर्दा पार्टीभित्र भने विवाद उग्र छ । पार्टीका शीर्ष नेताबीच संवादहीनताको अवस्था छ । 

कांग्रेसको विधानअनुसार यो फागुनमा नियमति महाधिवेशन गर्नुपर्ने हुन्छ । तर माघसम्म जागरण अभियानको तालिका बनाएर १४ औं महाधिवेशन सार्न खोजेको कांग्रेसभित्र चर्चा हुन थालेको छ ।नियमिति महाधिवेशन समयमा गर्न नसके विशेष परिस्थितिमा विधानले नै थप एक वर्ष म्याद थप गर्न अधिकार दिएको छ ।

सभापति शेरबहादुर देउवा पनि यही पक्षमा छन् । उनले पार्टीको केन्द्रीय समिति बैठकमा नै यो विषयबारे बोलिसकेका छन् । अभियान नेताहरूले सोचेजति सफल नभएपछि अभियानलाई लिएर विभिन्न टिकाटिप्पणी आउन थालेको छ । 

अभियानका क्रममा जिल्लामा पुगेका नेताहरूले पनि पार्टीभन्दा बढी गुटलाई प्रसय दिएको कांग्रेसका कार्यकर्ताहरू बताउँछन् । जिल्लामा पुगेका नेताहरू आउने महाधिवेसन केन्द्रित माहोल बनाउन लागेको कांग्रेस स्रोत बताउँछ ।

२०७४ सालमा भएको निर्वाचनमा ‘अनेपेक्षित’ हार ब्यहोरेपछि तय गरिएको अभियानका क्रममा संस्थापन समूहका नेताहरू नेतृत्वको मात्रै आलोचना गर्न नहुने भन्दै भाषण गर्दै आएका छन् भने संस्थापनइतर समूहले नेतृवको कार्यशैलीका कारण पार्टी कमजोर बनेको भन्दै नेतृत्वको आलोचना गर्दै आएका छन् । 

अभियानको विभिन्न पक्षबाट विश्लेषण भइरहेको बेला संस्थापनइतर समूहका केही नेताले भने अभियान महाधिवेशन सार्ने बाहाना भएको बताएका छन् । ‘गुटैगुटमा विभाजित भएको अवस्थामा जागरण अभियानले कार्यकर्ता जागृत हुने भन्दा झन गुटमा विभाजित भएका छन्’, एक नेताले भने, ‘यो जनता जागृत गर्ने अभियान भन्दा पनि महाधिवेशन सार्ने खेल मात्रै हो ।’

अभियानका लागि कञ्चनपुर पुगेका नेता गुरुराज घिमिरेले भने अभियान कांग्रेसको पुनर्जीवनका लागि अत्यन्तै आवश्यक भएको बताए । ‘यो अभियान निर्वाचनअघि नै हुनुपर्ने थियो तर अलिक ढिला भयो’, उनले भने, ‘यसले गर्दा फागुनमा हुनुपर्ने महाधिवेशनलाई केही असर भने पक्कै गर्छ । त्यसको विश्लेषण पछि गरौंला अहिले अभियानमा फोकस हौँ ।’ पार्टीभित्र नेताहरूको विवादका कारण पार्टी समस्यामा गुज्रिएको उनी बताउँछन् । 

अभियानलाई लिएर संस्थापन समूहले भने गुटगत स्वार्थभन्दा माथि उठेर सोच्न आग्रह गरेको छ । यो अभियान पार्टी सुदृढीकरणकै लागि भएको संस्थापन समूहका नेता मीन विश्वकर्मा बताउँछन् । उनले भने, ‘१३ औं महाधिवेशनपछि पार्टीभित्र देखिएको मतभेद विभाजन किचलो र आन्तरिक खलबल व्यवस्थापनका लागि यो अभियान ल्याइएको हो ।’

नेता विश्वकर्माले अभियान महाधिवेशन सार्ने खेल नभएको स्पष्ट पारे । ‘यो अभियानलाई गुटको नजरले नहेर्दा राम्रो । निर्वाचनमा अनपेक्षित हारबाट विक्षिप्त बनेका कार्यकर्ताको मनोबल उकास्न अभियान चलाइएको हो’, उनले भने, ‘गुटका नजरले हेर्ने साथीहरूले यसलाई महाधिवेशन सार्ने खेल भनेर अभिव्यक्ति दिँदै आउनुभएको छ । तर त्यस्तो हुँदै हैन ।’


प्रतिकृया दिनुहोस