प्रचण्डमा किन बढ्यो यस्तो छटपटी ?

समय आए ओलीले सत्ता हस्तान्तरण गर्न अप्ठेरो मान्नुहुँदैन

काठमाडौँ । नेकपाका अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको लिखित सहमति यसअघि नै सार्वजनिक भइसकेको थियो । तर त्यही विषयलाई लिएर प्रचण्डले दिएको पछिल्लो अभिव्यक्तिले किन तरङ्ग उत्पन्न गरायो ?

आठ महिनाअघि बीबीसी नेपालीसँगको कुराकानीमा प्रचण्डले पाँच वर्ष सरकार सहज ढङ्गले चलोस् भन्नेतिर आफूहरूको ध्यान रहेको बताउँदै भनेका थिए, सरकारलाई अस्थिर बनाउने गरी नेतृत्व परिवर्तन गर्ने हाम्रो चाहना होइन । समझदारी भयो भने त्यो पाँचै वर्ष जान सक्छ ।

तपाईँलाई महाधिवेशनबाट पार्टी अध्यक्ष बनाउने शर्तमाु भन्ने प्रश्नमा प्रचण्डको जवाफ थियोः यो कुरामा अहिले छलफल चलेको छैन । महाधिवेशनसम्म जाँदा देशको परिस्थिति कसरी जान्छ र पार्टीभित्र छलफल कसरी जान्छ त्यसमाथि भर पर्ने कुरा हो ।

महाधिवेशनबाट अध्यक्ष नहुने अवस्थामा समेत तपाईँ सरकारको नेतृत्वमा नगएरै बस्ने अवस्था रहन्छ भन्ने प्रश्नमा प्रचण्डले सरल जवाफ दिएका थिएनन् ।

उनको जवाफ थियोः एकताको बेलामा गरेको समझदारी अनुसार त त्यो हुँदैन, तर त्यो बेलाको परिस्थितिले माग गर्‍यो भने पार्टीका लागि, सरकारको स्थिरताका लागि र देशका लागि जे पनि गर्न तयार हुने स्थिति बन्छ । प्रचण्डको त्यो भनाइमा राजनीतिक उदारता देखिन्छ । उनले त्यसबारे कुरा गर्ने मौका महाधिवेशन हुने औँल्याएका थिए ।

तर प्रचण्ड त्यहाँसम्म पुग्न चाहेनन् र उक्त सहमतिलाई लिएर उनले थप टिप्पणी गरेका छन् । सहमतिमा आलोपालो भनिए पनि ओलीकै नेतृत्वमा सरकार पाँच वर्ष चल्न सक्नेमा उनी अहिले पनि अडिग नै छन् । तर उनले अब राजनीतिक सहमतिको बहीखाता खोल्ने बेला आएको सन्देश दिएका छन् । र त्यसका शर्तहरू अघि सारेका छन् ।

पछिल्लो टेलिभिजन अन्तर्वार्तामा उनले भनेका छन् देशमा सुशासन र विकासले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टी मुख्य हेर्ने र अर्को अध्यक्षले प्रधानमन्त्री मुख्य रूपले हेर्ने काम मिलायो भने मलाई सहज हुन्छ । मलाई प्रधानमन्त्री नभई नहुने होइन ।

त्यति भन्दा उनले सरकारको कामप्रति असन्तुष्टि रहेको कुरा औँल्याउन पनि खोजेको देखिन्छ । तर लगत्तै प्रतिप्रश्न गर्दै अन्तर्वार्ताकार ऋषि धमलाले ओलीको सरकार पाँच वर्ष चल्ने कुरा कबुल गराउन खोज्दा प्रचण्ड भन्छन्, मैले अघि एउटा कुरा भने तपाईँले सायद ध्यान दिनुभएन म फेरि त्यसलाई दोहोर्‍याउँछु ।

त्यसपछि उनी भन्छन्, ‘हामीले सहमति गरेको हुनाले प्रधानमन्त्री फेरिनुपर्छ भन्नेमा म छैन । तर म पनि एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित त हुनुपर्छ ।

त्यसो भयो भने सरकारको नेतृत्व एउटा अध्यक्षले र पार्टीको नेतृत्व एउटा अध्यक्षले गर्‍यो भने सन्तुलन मिल्छ । र, म फेरि प्रधानमन्त्री भइराख्न पनि पर्दैन । मैले पार्टी अध्यक्षको भूमिका राम्रोसँग खेल्छु । यो छलफलको विषय छ। पार्टी नेतृत्व तहमा पनि छलफल चलिराखेकै छन् ।

उनको त्यो भनाइको अर्थ हो  नेकपामा आलोपालोु छलफलमा प्रवेश गरेको छ । अथवा त्यसो भनेर उनले त्यसबारे अब छलफलको बेला भयो भन्ने सन्देश प्रवाह गरेका छन् ।

सँगै आफ्नो भूमिका परिभाषित होओस् भन्ने उनको चाहनाबाट बुझिन्छ उनी अहिलेकै भूमिकामै सीमित रहन चाहँदैनन् वा त्यसप्रति सन्तुष्ट छैनन् ।

त्यति हुँदा पनि उनी दोहोर्‍याउँछन्, म के विश्वास गर्छु भने केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न अप्ठेरो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ ।

राम्रो काम भयो र पार्टीभित्र सहमति भयो भने उहाँलाई पाँचै वर्ष चलाउन मैले दिन केही अप्ठ्यारो मान्दिनँ र उहाँले मलाई पार्टी सञ्चालन राम्रोसँग गर्नूस् भनेर उहाँले दिन पनि अप्ठ्यारो मान्न हुँदैन । त्यसो भनेर उनले लिखित सहमतिको छिनोफानो गर्ने अग्रसरता लिन खोजेको देखिन्छ ।

त्यसको निम्ति उनले प्रधानमन्त्री ओलीलाई साङ्केतिक चेतावनी पनि दिए, ूपार्टीभित्र जे सहमति भएको छ त्यो भावनामा हामी अगाडि बढ्यौँ भने चीजहरू एक ढङ्ले जान्छ । त्यो सहमतिभन्दा विपरीत कुराहरू गर्न थालियो भने चीजहरू अर्को ढङ्गले जान्छ ।

पछिल्ला अभिव्यक्ति दिनु ३–४ दिनअघि आफू र प्रधानमन्त्री ओलीबीच खुलेर मनको कुरा एक–अर्कालाई भनेको प्रचण्डले बताएका छन् । नेकपा केही नेताहरूका अनुसार प्रचण्डभित्र छटपटी देखिनुका केही कारण यस्ता छन् ।

सहमतिमा दुवै दलले अङ्गालेका राजनीतिक मान्यतालाई परिमार्जन र विकसित गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाउनेु उल्लेख छ । तर ओलीले मदन९आश्रित स्मृति दिवसमा जनताको बहुदलीय जनवादलाई समायानुकूल ढङ्गले सिर्जनात्मक प्रयोग गर्नेु बताउँदै, तर त्यो छाड्न नमिल्ने अडान प्रस्तुत गरेका थिए ।

नेता ईश्वर पोखरेलले त त्यसबारे देशव्यापी छलफलमा जाने नै बताएका थिए । विचार र सिद्धान्तको सवालमा पूर्व एमालेले आफूहरूलाई लतारेर लग्न खोजेको प्रचण्डको बुझाइ हुनसक्छ ।

विचार र राजनीतिबारे त्यो बहसका बीच पार्टीको जिम्मेवारी बाँडफाँटलाई लिएर पनि अध्यक्षद्वयबीच शक्तिसङ्घर्ष आशङ्का देखा परेको ठानिएको छ । ओलीले गृहमन्त्री रामबहादुर थापासँगै पूर्वमाओवादी नेतालाई आफूतिर तान्न खोजेको पनि प्रचण्डलाई परेको बताइन्छ ।

पार्टीका अध्यक्ष दुईजना भए पनि आफ्नो हैसियत सहायकको जस्तो बन्न पुगेको अनुभूतिले पनि प्रचण्डलाई झस्काएको हुनुपर्छ । ओली र सरकारप्रति देखिन र प्रकट भइरहेका असन्तुष्टिका बीच उनलाई च्याप्ने अवसर बनेको बुझाइ प्रचण्डले ठानेको हुनसक्ने प्रधानमन्त्री निकटहरूको ठम्याइ छ ।

पार्टी एकता र एकता महाधिवेशन पछि धकेलिँदै जाँदा आलोपालोु को सहमति पछि असान्दर्भिक हुने त्रासले पनि प्रचण्डले त्यसलाई जीवित राख्न पछिल्लो अग्रसरता लिन खोजेका हुन सक्छन् ।

यसको असर कुन रूपमा प्रकट हुन्छ भन्ने अझै प्रस्ट छैन । तर प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्रीसँगको भेट निश्चित भएको बेला प्रचण्डले त्यस्तो अभिव्यक्तिले दिएर ओली कमजोर रहेको सन्देश दिन खोजेको बुझाइ पूर्वएमाले नेतामा पाइन्छ । त्यसो गरेर प्रचण्डले बाह्य शक्तिलाई पार्टी र सरकारभित्र खेल्ने निमन्त्रणा दिएको उनीहरूको प्रारम्भिक ठम्याइ देखिन्छ ।

प्रतिकृया दिनुहोस