फैलिन थाल्यो नयाँ रोग, फैलियो सन्त्रास : जोखिम न्यूनीकरणमा सरकार उदासीन

काठमाडौं ।  नेपालमा नयाँ र जटिल प्रकृतिका रोगको प्रकोप बढ्दै गएको छ । पछिल्लो १५ वर्षको अवधिमा नेपालमा चार प्रकृतिका नयाँ रोगको प्रकोप बढ्दै गएको हो । नयाँ रोगको जोखिम बढेसँगै सर्वसाधरणमा त्रास बढ्न पुगेको छ ।

प्रकोप बढ्नेमा चिकेनगुनिया, स्क्रब टाइफस, डेंगु र बर्डफ्लु रहेका छन् । यी रोगबाट झन्डै २ हजार ५ सय नागरिक प्रभावित भएको ईपीडीमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती रोगको प्रकोप बढ्दै गए पनि सरकारले यसको नियन्त्रणमा खासै चासो देखाएको छैन ।

चिकित्सकका अनुसार ती रोग अत्यन्तै जोखिम प्रकृतिका छन् । मानिसको आवतजावत, मौसम परिवर्तनका कारण यस्ता रोग फैलँदै गएको महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । उनले भने, ‘मौसम परिवर्तनकै कारण तराईमा देखिने रोग उच्च पहाडमा देखिन थालेका छन्, मानिसको आवतजावतले पनि यस्ता रोग भित्रिने गरेका छन् ।’

महाशाखाको पछिल्लो तथ्यांकनुसार डेंगुबाट २ हजार १११, स्क्रब टाइफसबाट ३ सय र चिकेनगुनियाबाट १२ जना प्रभावित भएका छन् । ती रोग नियन्त्रणबाहिर छन् । केही रोगको खोज नै नहुँदा कति प्रभावित भए भन्ने आँकडासमेत आउन नसकेको बताइएको छ । त्यसैगरी, बर्डफ्लुसमेत मुलुकमा पटकपटक देखिने गरेको छ । पछिल्लो समय मुलुकमा फैलिएको बर्डफ्लुबाट पहिलोपटक एक युवकको मृत्यु भएको थियो । २१ वर्षे एक युवाको बर्डफ्लु भाइरसका कारण मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार चिकनगुनिया भाइरसबाट हुने संक्रमण हो । यो लामखुट्टेको सहयोगले सर्छ । यो संक्रमण एडिस एजिप्टी र एडिस एल्वोपिक्टस जातको संक्रमित लामखुट्टेले टोक्दा सर्छ । यी लामखुट्टेले डेंगु भाइरससमेत सार्छन् । दिनको उज्यालोमा टोक्ने यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन् । सन् १९५२ मा तन्जानियामा पहिलोपटक देखिएको चिकनगुनिया बिस्तारै पश्चिम, मध्य र दक्षिण अफ्रिकी क्षेत्र हुँदै एसियामा आएको हो । यो संक्रमण हुँदा उच्च ज्वरो आउँछ र हाडजोर्नी दुख्छ ।

नेपालमा फेला पारिएको स्क्रब टाइफस रोग मुख्यगरी मुसामा लाग्ने एक प्रकारको किर्नाजस्तै ‘माइट’ नामक संक्रमित जीवाणुले टोकेमा लाग्छ । माइट जुम्राजस्तै तर सूक्ष्म हुन्छ । प्रायःजसो यो जीवाणु झाडी, खेतबारी, वनजंगल, घरवरिपरिको झाडी, घुरान हुने ठाउँमा देखिने गर्छ । मानिसबाट मानिसमा नसर्ने यो रोग मुसाको एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि माइट जातको किर्ना झारमा झर्छ ।

त्यही झारमा मानिस पुग्दा टाँसिन्छ र संक्रमितले टोक्दा सर्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने हुन्छ । आँखा रातो हुने, पसिना आउने, झाडापखाला लाग्ने पनि हुन्छ । यो रोग दोस्रो विश्वयुद्धताका जापानी सेनामा देखिएको थियो । घाँसमा झरेको माइट, युद्धमा जंगलमा सेना घस्रने क्रममा सरेको पाइएको थियो । त्यसबेला रोग थाहा नहुँदा बिरामीमध्ये ३० प्रतिशतको ज्यान गएको थियो ।

नयाँ रोगहरू 

चिकेनगुनिया

स्क्रब टाइफस 

डेगुं, वर्डफ्लु

काठमाडौं उपत्यकामा देखिएका बढी रोग 

मुटु रोग, सुगर, फोक्सोको समस्या, मृर्गाैला, दम, उच्च रक्तचाप,  दम, रुघाखोकी, ज्वरो,झाडापखाला

जापानमा रोग पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर पनि चिनिन्छ । यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया) ले लगाउने रोग हो । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेमा सर्ने सम्भावना बढी हुन्छ । यो मानिसबाट मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् ।

अव्यवस्थित सहरीकरण र सरसफाइको कमीका कारण डेंगु रोग लाग्ने गर्छ । २००६ मा भारतबाट आएका एक जनामा डेंगु रोग भेटिएको महाशाखाले जनाएको छ । डेंगु रोग लागेका बिरामीमा रक्तस्राव हुने गर्छ । चिकित्सकका अनुसार ज्वरो आउने, हड्डी तथा जोर्नी दुख्ने, बान्ता हुने, छालामा डाबर देखापर्नेलगायतका लक्षण यसमा देखिन्छन् ।

डेंगु सन् २००६, चिकेनगुनिया सन् २०१० मा, स्क्रब टाइफस सन् २०१५ मा नेपाली नागरिकमा भेटिएको महाशाखाले जनाएको छ ।

विश्वस्वास्थ्य संगठनको तथ्यांकनुसार नेपालमा ६६ प्रतिशत मृत्युका कारण नसर्ने रोग हो । वायु प्रदूषण, बदलिँदो जीवनशैली, सूर्तिजन्य पदार्थको प्रयोग, शारीरिक निष्क्रियताका कारण नसर्ने रोगबाट मानिसको अकालमै ज्यान जाने गरेको छ ।

वीर अस्पतालमा दैनिक १ हजार ५ सय बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । तीमध्ये अधिकांश नसर्ने रोग जस्तै: फोक्सोको समस्या, मिर्गौला, दम, रक्तचाप, सुगरका बिरामी आउने गरेका वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरो, रुघाखोकी र पखालाका बिरामी आउने गरेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ । नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा मृर्गौला र ६० लाखमा मुटुसम्बन्धी कुनै न कुनै समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वसदस्य सचिव डा. खेम कार्कीले दिन प्रतिदिन वातावरण प्रदूषण बढ्दै गएका कारण पनि नसर्ने रोगको प्रकोप बढ्दै गएको बताए । उनले भने, ‘नसर्ने रोगहरूको न्यूनीकरणका लागि सरकारले चेतना अभिवृद्धिमा लगानी गर्नुपर्ने आवश्यकता छ । मानिसमा विस्तारै शारीरिक निष्क्रियता पनि बढ्दै गएको छ । यसले गर्दा पनि रोगले च्याप्न सक्छ ।’ सरकारले रोग निवारणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम अघि नबढाएको सरोकारवालाको गुनासो छ । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...