कार्यकर्ता विहीन सुनील थापालाई जिल्लामा ‘बाउको बिरासत’ जोगाउनै हम्मे

‘काम छ, आज भ्याउँदिन काजी साब’ भन्दै तर्किन थाले कार्यकर्ता

धनकुटा । यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का महामन्त्री सुनीलबहादुर थापा धनकुटाका गाउँगाउँमा पुराना कार्यकर्ता शिला खोज्दैछन् । 

त्यसै पनि धनकुटामा राप्रपा संयुक्तका कार्यकर्ता खासै छैनन् । भएका कार्यकर्ता पनि थापासँग असन्तुष्ट बनेर साथ छाड्न थालेपछि केही आसेपासेलाई च्यापेर गाउँ डुलिरहेका छन् ।

थापा जेठ ४ गतेदेखि धनकुटामा छन् । उनी पार्टीको महामन्त्री हुन् । तर जिल्लामा पुग्दा स्वागतका लागि एउटा खादा लगाईदिने कार्यकर्ता पनि छैनन् । प्रतिनिधिसभाको निर्वाचनमा नराम्ररी पराजित भएका थापा बचेखुचेका कार्यकर्तालाई फकाउँदै गाउँ पसेका छन् । 

तर, गाउँमा रहेका पुराना कार्यकर्ताले पनि साथ नदिएपछि आफ्नै आसेपासेका कुरा सुनेर दंग छन् । जिल्ला सदरमुकाममा त उनलाई भेट्न कुनै कार्यकर्ता पनि आउँदैनन् । भेट्न बोलाए पनि ‘काम छ, आज भ्याउँदिन काजी साब’ भनेर तर्किने गरेको एक कार्यकर्ताले बताए ।

पूर्वमन्त्रीसमेत रहेका थापाको जिल्लामा यस्तो हविगत हुनुमा स्वयम उनी आफैं रहेको जिल्लामा चर्चा छ । उनले अहिले भेटे जतिलाई आफ्ना पिता सूर्यबहादुर थापाको योगदानको चर्चा गर्ने गर्छन् । तर, उनी आफैंले चाँही ‘बाउको बिडो’ थाम्न नसकेको देखेर कार्यकर्ता सबै आश्चर्यमा परेका छन् । 

यसरी टाढिँदैछन् कार्यकर्ता

दोस्रो संविधानसभाको निर्वाचनभन्दा अघि सुनीलबहादुर थापालाई जिल्लामा नेताका रुपमा चिनिदैन थियो । तर, अचानक सूर्यबहादुर थापाले राजनीतिमा जवरजस्ती होम्याएपछि उनले धनकुटा क्षेत्र नं. २ बाट निर्वाचन नि जिते । 

त्यो बेला सूर्यबहादुर थापा आफैं गाउँ गाउँ पुगेर ‘मेरो प्रतिनिधिको रुपमा मेरो छोरालाई भोट दिनुस्’ भन्दै हिडेका थिए । त्यही भएर पनि सुनीलले दोस्रो संविधानसभामा निर्वाचित भए । ‘बाउ, भारत र रअ’ को बलमा दुई पटकसम्म मन्त्री बने । दोस्रो पटक मन्त्री बन्न त पार्टी नै फुटाए । मन्त्री भएकै बेला प्रतिनिधिसभाको निर्वाचनमा झण्डै १० हजार मतको अन्तरमा राजेन्द्र राईसँग पराजित भए । 

निर्वाचनमा नराम्ररी पराजित भएपछि उनले निक्कै लामो समयसम्म जिल्ला टेकेनन् । यतिसम्मकी निर्वाचनमा बोलेको र कार्यकर्ता परिचालनमा गरिएको खर्चसमेत दिएनन् । अहिले पनि निर्वाचनको बेला गरिएको खर्च नदिँदा आफ्ना पार्टीका मात्रै होइन, नेपाली कांग्रेसका नेता कार्यकर्ता उनीसँग रुष्ट छन् । 

उनी राजनीतिमा झुल्किएपछि सूर्यबहादुर थापाको इज्जत र भावनालाई समेटेर जिल्लाको राजनीतिमा राम्रै छाप रहन्छ की भनेर धेरैले आस गरेका थिए । युएनको जागिर छाडेर राजनीतिमा आएपछि उनले धेरै कार्यकर्तालाई जागिर लगाई दिने आश्वासन पनि दिए । तर, आफ्ना केही आसेपासे र भान्से बाहेकलाई जागिर लगाउन सकेनन् । 

उनका पिता सूर्यबहादुर थापाले आफुलाई ढुंगा हान्नै व्यक्ति विरामी भएर काठमाडौं पुगे तुरन्तै जुनसुकै तवरले पनि औषधी उपचार गरेर ‘धन्यवाद’ दिएर जिल्ला फर्काउने गर्थे । सुनील थापाले भने आजभोली त जिल्लाबाट काठमाडौं जानेलाई ‘कुनै मतलव’ दिने गरेका छैनन् । त्यही भएर पनि उनी जिल्ला आउँदा एक्लो बन्ने गरेका छन् । 

जिल्लामा एक्लो नेता

माघ १८ मा तत्कालीन राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादीबीच एकता भएर राप्रपा संयुक्त बनेको छ । त्यसैको नेता हुन् सुनीलबहादुर थापा । एकताका बेला धनकुटामा एराष्ट्रवादीको खासै अस्तित्व थिएन । त्यही भएर सबैले तत्कालीन राप्रपा प्रजातान्त्रिकका नेताहरु नेताका रुपमा चिनिन्छन् । 

तत्कालीन राप्रपा प्रजातान्त्रिकमा रहेका अधिकांस जिल्ला कमिटी सुनीलबहादुर थापाको विरोधमा छन् । अर्थात् सुनील एकातिर र जिल्ला कमिटि अर्कातिर । त्यही भएर पनि जिल्लामा आउँदा सुनीलबहादुर थापा ‘एक्लो नेता’ बन्ने गरेका छन् । 

राप्रपा प्रजातान्त्रिकका तत्कालीन जिल्ला कमिटिमा कुमारबहादुर थापा अध्यक्ष, टिकाप्रसाद घिमिरे उपाध्यक्ष, सचिव चन्द्र याख्खा थिए भने पवित्रा श्रेष्ठ, शंकर थापा, रेवतराम भण्डारी, लक्ष्मी थापा, लोकेन्द्र घिसिङ, रेगेन्द्र लिम्बु, दुर्गा पुरी, कमल श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, नगेन्द्र राई, डगेन्द्र थापा, भीम विक सदस्य थिए भने धर्मध्वज राई र श्याम गुरुङ क्षेत्रीय अध्यक्ष थिए । 

त्यसैगरी पाख्रिवास नगरपालिका नगर अध्यक्षमा कृष्ण थापा, महालक्ष्मी नगर अध्यक्षमा गोपाल पौडेल र धनकुटा नगर अध्यक्षमा पृथसिंह तामाङ थिए । पार्टीको विधानमा नगर अध्यक्ष पदेन जिल्ला सदस्य रहने व्यवस्था थियो । तर, अहिलेसम्म पाख्रिवास नगर अध्यक्ष कृष्ण थापाबाहेक अरु सुनीलबहादुर थापाको विपक्षमा छन् ।

गुम्दै बिरासत 

नेपाली राजनीतिमा निक्कै प्रभाव पार्न सक्ने जिल्ला हो धनकुटा । यहाँ अन्तर्राष्ट्रिय रुपमा प्रभाव पार्न सक्ने नेता पनि थिए । ३ जना प्रधानमन्त्री जन्मायो धनकुटाले । 

त्यति मात्रै होइन, धनकुटाबाट बसाई सरेका नेताहरु अहिले पनि राष्ट्रिय राजनीतिमा निक्कै प्रभाव पार्न सफल बनिरहेका छन् । यही जिल्लामा जन्मिएर अन्तर्राष्ट्रिय रुपमा चिनिए सूर्यबहादुर थापा । उनी पटकपटक प्रधानमन्त्री भए ।

प्रतिनिधिसभाको निर्वाचन हुँदा सुनीलबहादुर थापा उद्योगमन्त्री थिए । निर्वाचनका बेला उनी मन्त्रीकै हैसियतका भोट माग्दै हिडेका थिए । निर्वाचनको बेला धनकुटा प्रदशेको अस्थायी राजधानी बन्यो भनेर ‘प्रयोजित दिपावली’ गर्न लगाए । 

उनी आफु मन्त्रीमण्डलमै भएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले विराटनगरलाई प्रदेश नं. १ को अस्थायी राजधानी तोक्दा पनि ‘नोट अफ डिसेन्ट’ लेख्न सकेनन् । यसले उनको राजनीतिलाई एकैपटक सयबाट पचासमा झारिदियो । निर्वाचन सकिएपछि त उनको राजनीति नै संकटमा परेको छ । 

जिल्लामा एक्लिन थालेपछि उनले पटकपटक कांग्रेसमा प्रवेश गर्न खोजेको जिल्लामा चर्चा चलेकै हो । निर्वाचन सकिएपछि पनि कांग्रेसमा प्रवेश गरेर आफ्नो राजनीति सुरक्षित गर्न सकिन्छ कि भनेर हात छोएरै लागेको स्रोतले बतायो ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...