बुद्ध जन्मजयन्ती: राष्ट्रपति भण्डारीको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको बताएकी छिन् । गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न दिगो शान्ति र राष्ट्रिय एकतामा जोड दिएकी हुन् । 

राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ–आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबैमा आहृवान पनि गरेकी छिन् । विश्वशान्तिका अग्रदूत गौतम बुद्धका उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने उनको भनाइ छ । बुद्धका उपदेशले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सदभाव कायम गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ । 

गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा उनले शुभकामना समेत दिएकी हुन् । यसैबीच राष्ट्रपति भण्डारीले उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरेकी छिन् । 

किराँत समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई, लिम्बू, याक्खा, सुनुवारलगायत किराँत समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिपूजक किराँत समुदायलाई धर्तीको वातावरण स्वच्छ राख्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । 

प्रतिकृया दिनुहोस