नेकपाको विद्यार्थीमा ऐन महरको बढुवा हुँदा तीव्र असन्तुष्टि, रञ्जित तामाङले राजीनामा दिने

‘यो मेरो अपमान हो, नविना लामा संयोजक भएको भए म सहसंयोजक बन्थें

काठमाडौं । ऐन महरलाई बढुवा गरेर विद्यार्थीको जिम्मेवारी दिइएपछि पूर्व एमालेनिकट अनेरास्ववियु र अखिल क्रान्तिकारीका नेताहरु भने आक्रोशित बनेका छन् । जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा असन्तुष्टि देखिएको छ ।

नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र रञ्जित तामाङलाई सहसंयोजक तोकेको थियो । महर तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुका महासचिव थिए हुन् भने एमाले सम्बद्ध अनेरास्ववियुकी अध्यक्ष नविना लामा हुन् ।

तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा महरलाई संयोजक बनाइएको छ । यसलाई लिएर अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले असन्तुष्टि जनाएका छन् ।

विचित्रको एकता भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनुपर्नेमा अनेरास्ववियूमा एकैचोटी महासचिवमा पो झरेको भन्ने सुनियो । अध्यक्षपछि रोल नं.२ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र ?’

अनेरास्ववियु अध्यक्ष नविना लामा समानुपातिक कोटाबाट सांसद बनेपछि आचार्य कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए । उनले एकतापछि विद्यार्थीको नेतृत्वमा दावी गर्दै आएका थिए । अनेरास्ववियू’को सहसंयोजक तोकिएका रञ्जित तामाङ पनि सन्तुष्ट छैनन् ।

तत्कालीन माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष रहेका उनी नेतृत्वको दावेदार थिए । अनेरास्ववियूका महासचिव महरलाई संयोजक दिएर आफूलाई सहसंयोजक बनाएकोमा असन्तुष्ट तामाङ भने, ‘यो मेरो अपमान हो, नविना लामा संयोजक भएको भए म सहसंयोजक बन्थें ।

तर, महासचिवको मुनि बस्ने कुरा हुँदैन ।’ आफ्नो अपमान भएको भन्दै तामाङ राजीनामा दिने तयारीमा छन् । नेकपाले अन्य जनवर्गीय संगठनहरुको संयोजक पहिले अध्यक्ष जो थियो उसैलाई तोकेको छ । तर महासचिवलाई एकैपटक संयोजकको जिम्मेवारी दिइएको विद्यार्थी संगठनमा मात्र हो ।

प्रतिकृया दिनुहोस