झुक्याएर बिहे, अलग बस्दा एसिड : पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी

के छ कानुनी व्यवस्था ?

काठमाडौं । राजधानीको कालोपुलमा बुधबार राति एसिड आक्रमणमा परेकी जेनी खड्काको अवस्था चिन्ताजनक छ । दोलखा स्थायी घर भएकी २० वर्षीया खड्का शरीरका विभिन्न भाग जलेको अवस्थामा छटपटाइरहेकी छन् । उनको कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार राति कालोपुल सडकमा एसिड आक्रमणमा परेपछि स्थानीयले उनलाई तत्कालै नजिकैको ओम अस्पतालमा पु¥याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर लगियो । प्रहरीसमेत उत्ति बेलै आक्रमणकारीको खोजीमा सक्रिय भयो । प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिलाई राति साढे १० बजे काँडाघारीबाट पक्राउ ग¥यो । पक्राउ पर्ने व्यक्ति थिए, जेनीकै ३६ वर्षीय श्रीमान् विष्णु भुजेल ।

जेनीको परिवारका अनुसार १५ वर्षको उमेरमा भुजेलले जेनीलाई झुक्याएर विवाह गरेका थिए । विवाहपछि समेत उनीहरू राजधानीमै डेरा गरी बस्दै आएका थिए । खड्काले १७ वर्षको उमेरमै पहिलो सन्तान जन्माइन् । त्यसलगत्तै भुजेलले खड्कालाई काभ्रेको दाप्चामा रहेको घरमा पु¥याए । त्यसपछि जेनीले पत्तो पाइन्, श्रीमान्को आफू कान्छी श्रीमती हुँ भन्ने ।

जेनीले आफूलाई झुक्याएर बिहे गरेको र घरमा अर्की श्रीमती रहेको जानकारी पाएपछि उनी श्रीमान् छाडेर अलग्गै बस्ने निष्कर्षमा पुगिन् । त्यसलगत्तै उनी आफ्नो माइती फर्किएर आमाको डेरामा बस्दै आएकी थिइन् ।

एकातिर आफू कम उमेरकी अर्कोतिर घरमा अर्की श्रीमती रहेको थाहा पाएपछि जेनी अलग बस्दै गर्दा समेत भुजेलले फोन गर्ने र धम्क्याउने गरेको जेनीकी आमाले जानकारी दिइन् ।

जेनी कक्षा १० मा अध्ययनरत थिइन् । यस्तै, उनी एक सहकारीमा काम गर्दै आएकी थिइन् । भुजेलले जेनीलाई झुक्याएरै कलिलो उमेरमा भगाएर विवाह गरेको प्रहरीले समेत बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले भुजेलले जेनीलाई झुक्याएरै विवाह गरेको र घरमा अर्की श्रीमती रहेको थाहा पाएपछि उनी माइतीमै बस्दै आएको पारिवारिक स्रोतबाट खुलेको जानकारी दिए ।

यही बीचमा बुधबार साँझ भुजेलले जेनीलाई भेट्न मन लागेको र केही कुरा गर्ने भन्दै कालोपुल सडकमा बोलाएका थिए । पटक–पटकको आग्रहपछि उनी डेराबाट भुजेललाई भेट्न भन्दै निस्किएकी थिइन् । त्यसको केही बेरमै उनीमाथि श्रीमान्बाटै एसिड आक्रमण भयो । महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीका अनुसार एसिड आक्रमणमा परी घाइते भएकी जेनीको अवस्था गम्भीर छ । उनको कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, हात, गोडालगायत शरीरका अधिकांश भाग जलेको छ । उनी बोल्न सक्ने अवस्थामासमेत छैनन् ।

एसिड आक्रमणको ‘प्रि प्लान’: जेनीमाथि एसिड आक्रमण गर्ने भुजेलको पूर्वतयारी रहेको प्रहरी अनुसन्धानमा देखिएको छ । भुजेलले काभ्रेको बनेपाबाटै श्रीमतीमाथि एसिड प्रहार गर्ने तयारीसहित एसिड ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बनेपामा मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका भुजेलले एक सुन पसलबाट गोडामा काँडाको खिल निकाल्न भन्दै एसिड मागेको र त्यहीबाट एसिड ल्याएको प्रहरीले जनाएको छ ।

जेठीसँग खटपट, कान्छीको ट्याटु: प्रहरीको नियन्त्रणमा रहेका भुजेलले आफ्नी जेठी श्रीमतीसँग समेत आफ्नो सम्बन्ध राम्रो नभएको र कान्छीसँग सँगै बस्ने आफ्नो रहर समेत पूरा हुन नसकेकाले एसिड आक्रमण गरेको बयान दिएका छन् ।

भुजेलले प्रहरीलाई आफूले पटक–पटक सँगै बस्न गरेको आग्रह स्वीकार नगरेपछि आक्रमणको निष्कर्षमा पुगेको बयान दिएका छन्् । भुजेलले जेनीको तस्बिर अंकित ट्याटुसमेत छातीमा खोपेका छन् ।

के छ कानुनी व्यवस्था ?

१ भदौ २०७५ देखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३ को ९२० मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी कारबाही गरिने उल्लेख छ । जसमा अनुहार कुरूप पारिदिएमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिमानाको व्यवस्था छ ।

यस्तै, अन्य अंगमा एसिड प्रहार गरेर क्षति पुगेको पाइए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ । घटनाको प्रकृति हेरेर दुवै सजाय हुने व्यवस्थासमेत छ ।

यसैगरी, एसिड आक्रमणबाट पीडितको मृत्यु भएमा प्रहार गर्ने विरुद्ध कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योगमा समेत मुद्दा चल्न सक्नेछ । महानगरीय प्रहरी वृत्त, कमलपोखरीले एसिड आक्रमण गर्ने विष्णु भुजेललाई जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर बयान लिइरहेको छ ।

प्रतिकृया दिनुहोस