मदन आश्रितको स्मृति दिवस: प्रधानमन्त्री ओलीद्वारा श्रद्धा सुमन अर्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २६ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गरेका छन् ।

सामाजिक सञ्जालमाफर्त प्रधानमन्त्री ओलीले श्रद्धा सुमन अपर्ण गरेका हुन् । प्रधानमन्त्री ओलीले सार्थक लोकतन्त्र, समतामूलक समाज निर्माण र समृद्धिको यात्रालाई गन्तव्यमा पुर्‍याएर श्रद्धेय जननेताको स्मृतिलाई सार्थक बनाउन आग्रह गरेका छन् ।

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

२०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो । रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन ।

दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो । बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण छ । गत वर्ष आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।


प्रतिकृया दिनुहोस