कांग्रेस भन्छ, मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लेउ, नत्र...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन माग गरेको छ । 

प्रतिनिधीसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसदहरुले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् । साथै उनीहरुले सरकारले सो विधेयक फिर्ता नलिए आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी पनि दिए ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारलाई संसदमा पेश भएको विधेयक फिर्ता लिन माग गरे । उनले विधेयक विल्कुलै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने वैचारिक स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको भएकाले फिर्ता लिनुपर्ने अडान लिए । 

सरकारले लोकतन्त्रको पहरेदारको रुपमा रहेको प्रेसलाई सरकारले नै अमर्यादित बनाउन खोजेका आरोप लगाए । उनले भने, ‘सकारले विधेयक फिर्ता लिएर प्रेसको मर्यादालाई कायम राख्न सहयोग गर्नुपर्छ ।’

प्रमुख सचेतक खाँणले सरकारले सिद्धान्तमा मौलिक अधिकारको रक्षा गर्ने भने पनि कानुन बनाउँदा मौलिक अधिकारलाई कुण्ठित गर्ने प्रयास गरेको जिकिर गरे । उनले कानुन बनाउँदा यसरी विभेदकारी बनाउन नहुने जिकिरसमेत गरे ।

यता, सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गराएर सहमतिको वातावरण बनाउन पहल गर्ने बताएका छन् । विधेयकको विरोधमा नेपाल प्रेस युनियनले मंगलबार बुझाएको ज्ञापनपत्र लिँदै सभामुख महराले सञ्चारमन्त्री र राष्ट्रियसभा अध्यक्षसँग समेत यो विषयमा कुरा गर्ने बताए । 

उनले पत्रकारले उठाएका विषयसँग आफू पूर्ण सहमत रहेको भन्दै विधेयक पूर्णरुपमा फिर्ता नभए संशोधनका माध्यमबाट भने पनि माग सम्बोधन गर्न आफू लागिपर्ने बताए । 

ज्ञापनपत्र बुझाउँदै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारले ल्याएको विधेयक हुबहु कार्यान्वयन भए प्रेसमात्र नियन्त्रण नभई लोकतन्त्र र नागरिक अधिकारसमेत कुण्ठित हुने बताए । 

प्रतिकृया दिनुहोस