रत्‍नपार्क र गोंगबु पुलबाट १५१ जना यौनकर्मी पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको रत्नपार्क र गोँगबुको पुलबाट यौनकर्मी महिला पुरुष गरि १५१ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा बसेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख फेरिनेबित्तिकै प्रहरीले सार्वजनिक स्थानमा मर्यादा कायम गराउने अभियान थालेको हो । परिसरमा एसएसपी उत्तमकुमार सुवेदीले प्रमुखको जिम्मेवारी सम्हालेको साता पनि भएको छैन ।

परिसरका अनुसार सोमबार मध्यराति निस्किएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा पुरुष र महिलासहित सय ५१ जनालाई पक्राउ गरेको हो । 

समाजमा विकृति फैलने गरी यौनजन्य क्रियाकलाप भइरहेको सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।  प्रहरीका अनुसार गोंगबु, रत्नपार्क र रणोदीप चोक लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो। 

प्रतिकृया दिनुहोस