सरकारले जग्गा फिर्ता लगे क्षतिपूर्ति दिनुपर्छः अध्यक्ष भट्ट

आवश्यक पर्यो भने क्याबिनेटमै जान्छौं’

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष भुवन भट्टले बालुवाटारस्थित संघको कार्यलय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।

एनआरएनको भवन भएको जग्गा भुमाफियामार्फत खरिद भएको खुलासा भएको सन्दर्भमा सो कुरा बताएका हुन् । 

२०७२ जेठमा एनआरएनले ललिता निवासको क्याम्पभित्रको जग्गा खरिद गरेको थियो । जग्गा खरिद गर्न कार्यमा एनआरएनले समिति गठन गरेको थियो ।

सो समितिको संयोजकमा तत्कालिन उपाध्यक्ष रहेका भट्टलाई बनाइएको थियो । संघले सो जग्गा भाटभटेनी मालिक मीनबहादुर गुरुङसँगको साँठगाँठमा जग्गा खरिद गरेको थियो ।

अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टले भने, ‘यदि सरकारले यो गलत काम भयो भन्छ भने त्यसमा हाम्रो जति खर्च भएको छ त्यो सरकारले क्षतिपूर्ति दिनुपर्छ ।

बकाइदा राजश्व तिरेर, लालपूर्जा लिएर, नगरपालिकाको निर्माण अनुमति लिएर र भवन सम्पन्नको सर्टिफिकेट लिइसकेको सम्पत्तिलाई कसरी फिर्ता लान पाइन्छ ?’

मन्त्रिपरिषदबाट निर्णय गराएरै जग्गा लिएको उनको भनाइ थियो। आवश्यक परे फेरि पनि मन्त्रिपरिषदबाट निर्णय गराउने उनले बताए ।

‘क्याबिनेट डिसिजन गराएरै लिएको चिज हो फेरि आवश्यक पर्यो भने क्याबिनेटमै जान्छौं’, अध्यक्ष भट्टले भने, ‘सरकारको जग्गा बेच्ने मान्छे गलत हो । कि उसलाई कारवाही गरेर सरकारले हामीलाई क्षतिपूर्ति दिनुपर्यो ।’

एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेले सरकारका सबै निकाय र वकिलहरुले ठीक छ भनेपछि जग्गा खरिद गरिएको बताए । अष्ट्रेलियामा सबै प्रक्रियाबाट ठीक भएको प्रमाणित भएपछि अन्तिममा हस्ताक्षर गर्ने गरेको स्मरण गर्दै आफूहरुले बालुवाटारमा जग्गा किन्दा पनि त्यही विश्वासका साथ काम गरेको बताए । 

प्रतिकृया दिनुहोस