प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली ४ दिने भ्रमणमा  भियतनाम जान लागेका हुन् । प्रधानमन्त्री ओली विहान साढे ११ बजेको नेपाल एयरलाइन्सको चार्टड विमानबाट भियतनाम प्रस्थान गरेका छन् । 

भ्रमणकामा दुवै मुलुकबीच हवाई उडानसहित द्धिपक्षिय सहयोगका अन्य विषयमा सम्झौता हुनेछ । प्रधानमन्त्री ओलीले त्यहाँ आयोजना हुने ‘बुद्ध अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भियतनाम भ्रमण पश्चात ओलीले कम्बोडियाको समेत भ्रमण गर्ने कार्यक्रम छ । कम्बोडियासँग पनि द्धिपक्षिय व्यापारका विषयमा सम्झौता र सहकार्य हुने परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्री ओलीको साताव्यापी लामो भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदाश बैरागी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, बाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी सहभागी छन् । 

यसैगरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, विभिन्न दलका सांसद, नेपाल उद्योग बाणिज्य महासंघका वर्तमान र पूर्व पदाधिकारी सहभागी रहने छन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण र उच्च कर्मचारीले बिदाइ गरे । सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।

प्रतिकृया दिनुहोस