सडक कालोपत्रेको माग गर्दै स्थानीयद्वारा जोरपाटी सडक खण्ड बन्द

काठमाडौं । वर्षौं बित्दासमेत सडक पिच नभएको भन्दै स्थानीयले जोरपाटी सडक बन्द गरेका छन् ।चाबहिलदेखि जोरपाटीसम्मका स्थानीयले उक्त सडकखण्डमा धुलो बढी हुँदा पनि सरकार र ठेकेदारले बेवास्ता गरेको भन्दै आज बिहानैबाट बाटो बन्द गराएका हुन् । सडक छेउका व्यवसायी पनि पसल बन्द गरेर सडकमा उत्रिएका छन् । 

बौद्ध व्यापार संघको पहलमा आज बिहानैबाट उक्त सडक बन्द गराएर स्थानीयले दबाब दिएका हुन् । “हामीले तीनवर्षदेखि संघर्षका कार्यक्रम गरेका थियौं,” बौद्ध व्यापार संघका सचिव सहदेव चौलागाईँले बाह्रखरीसँग कुरा गर्दै भने,“न त सरकारले सुन्छ, न ठेकेदारले ।” उक्त सडक खण्ड निर्माणको जिम्मा युनाइटेड विल्डर्सले पाएको थियो । 

उक्त कम्पनीको कार्यालयमा पुगेर समेत आफूहरुले दबाब दिएको भए पनि अहिलेसम्म सडक नबनेको भन्दै स्थानीय आक्रोशित भएका छन् । “हिजो बौद्ध गेटमा एकघण्टा चक्काजाम ग¥यौं,” उनले भने, “आज ८ बजेदेखि ५ बजेसम्म चक्काजाम गरेका छौं । परिणाम नआउन्जेल अब हामीले सडक खोल्दैनौं ।

सडक भत्काएको पाँचवर्ष बढी भइसक्यो तर अहिलेसम्म बनाइएको छैन ।” सडकको चौडाइ २२ मिटर बनाउने भनेर ठेक्का लगाइएपछि स्थानीले आफूहरुले घर नभत्काउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अन्तरिम आदेश दिएपछि सडक निर्माणको काम रोकिएको थियो ।

अघिल्लो वर्ष नै मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि जति सडक अहिले कायम छ त्यसमा पिच गर्नू भनेर निर्देशन दिएको भएपनि अहिलेसम्म नभएको चौलागाईँले जानकारी दिए । 


प्रतिकृया दिनुहोस