भारतीयलाई नागरिकता दिने वडाध्यक्षसहित सचिव फरार हुँदा वडाको काम प्रभावित

झापा ।  भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारीको भागाभाग भएको छ । 

भारतीय नागरिकलाई नागरिकता दिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोसँगै झापाको कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम फरार भए । यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राहीमा परेको छ ।

भारतको आसाम राज्यको मणिपुर कानकोपी जिल्लाका ३५ वर्षीय भूपाल गुरुङलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका वडाध्यक्ष मुखबहादुर भट्टराई वडा सदस्यलाई कार्यवाहकको पत्र थमाएर फरार भएका छन् । उनले वडासदस्य चन्द्रशंकर अधिकारीलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

वैशाख १९ गतेबाट आफू कामको सिलसिलामा काठमाडौं जानुपरेको भन्दै भट्टराईले वडासदस्य अधिकारीलाई पत्र थमाएका छन् । वडाध्यक्ष, सचिव, सदस्यसहित गाउँका केही स्थानीय फरार छन् । अहिले वडाध्यक्षको दुईवटै फोन अफ छ ।

वडा कार्यालयमा अध्यक्ष, सदस्य र सचिव नहुँदा सेवाग्राहीले सिफारिस, जन्मदर्ता, विवाहदर्ता, योजना सिफारिस, नागरिकता सिफारिसलगायत वडाबाट हुने काम लिन सास्ती भोग्नुपरेको छ । वडा कार्यालयबाट धेरै काम हुन्छ । नागरिकको चाप धेरै भए पनि वडाध्यक्ष, सदस्य र सचिव सबै फरार भएपछि वडाको काममा पनि समस्या आएको छ । 

वडा सचिवसमेच फरार भएपछि ३ नम्बर वडाका सचिव लक्ष्मण तामाङलाई २ नम्बर वडाको पनि काम गर्ने जिम्मेवारी दिइएको छ ।कचनकवल गाउँपालिकाले सोमबारदेखि तामाङलाई दुईवटै वडाको जिम्मेवारी दिएपछि केही घन्टा मात्र २ नम्बर वडामा जाने र बाँकी समय ३ मै बस्न थालेका छन् ।

भूपाल गुरुङ कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङलाई सबै कागजपत्र मिलाएर बाबु बनाउँदै नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय झापा पुगेकै समयमा वैशाख १० गते पक्राउ परेका थिए । त्यसको सात दिनपछि वैशाख १७ गते वडाध्यक्ष, सदस्य, सचिवसहित नौ जनाका नाममा बिहान १० बजे पक्राउ पुर्जी जारी गरेको थियो ।

तर पक्राउ पुर्जी जारी भएको भोलिपल्ट अर्थात् वैशाख १८ गतेसम्म वडाध्यक्ष भट्टराईले वडा कार्यालयमै बसेर काम गरे पनि प्रहरीले पक्राउ गनै सकेको सथएन । जिल्ला प्रहरी कार्यालय झापा पुगेको अदालतको पक्राउ पुर्जी इलाका प्रहरी कार्यालय बनियानीलाई १८ गते साँझ ६ बजे मात्र पाएपछि भोलीपल्ट वडा कार्यालय र वडाध्यक्ष रहेको इलाकामा पुग्दा सबै फरार भइसकेका थिए । 

प्रतिकृया दिनुहोस