शान्तिपूर्ण आन्दोलनमा प्रहरीको दमन विरुद्ध नर्सको आक्रोश

काठमाडौं  । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले  गम्भिर आपत्ति जनाएका छन् ।

अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भन्दै उनीहरुले उक्त कदमको घोर निन्दा गरेका हुन् । 

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अस्पतालमा कार्यरत र हाल आन्दोलनरत नर्सहरुले आन्दोलनकै क्रममा प्रहरी प्रशासनले हिजो (शुक्रबार) साँझ स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको भन्दै कडा भत्र्सना गरेका हुन् ।

 अस्पतालका करिब दुई सय जना कर्मचारीको भविष्यमाथि नै खेलबाड गर्नेगरि पूर्ण स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई घोर अन्याय हुनेगरि सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै आफूहरु बैशाख ११ गतेबाट पुर्व सूचनासहित चरणबद्ध आन्दोलनमा उत्रिएको उनीहरुले जानकारी दिए । 

यद्धपी आफूहरुले सुरुवातमा आकस्मिक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेर अघि बढेको भएपनि अस्प्ताल प्रशासनले मन्त्रालयमा आफ्ना प्रतिनिधि पठाई कर्मचारीहरुमाथि कुनैपनि पूर्वाग्रह नराख्ने आश्वास दिईएको पनि उनीहरुको भनाई छ ।

त्यस्तै, कोहीपनि कर्मचारीलाई अन्याय हुनेगरि खाईरहेको जागिरबाट ननिकाल्ने भनि मौखिक रुपमा अस्पतालको सञ्चालक समितिका अध्यक्षले विश्वास दिलाएकै कारण आफूहरुले सेवा सुचारु गरेको उनीहरुको स्पष्टोक्ति थियो । 

तर, माग पूरा नभएसम्म आन्दोलन जारी रहेको सुचना दिईएको पनि उनीहरुको दाबी छ । पटक–पटक वार्ता भन्दै कर्मचारीहरुलाई न्यायोचित निर्णयमा नपुर्याउने र एकतन्त्रीय शासन लगाएर सबै कर्मचारी विस्थापित गराउने अस्पतालको सोच देखिएकोले आफूहरु पूनः चरणबद्ध आन्दोलनमा उत्रिएको पनि उनीहरुले सुनाए । 

आफ्नै स्टाफहरुलाई अमर्यादित तवरले गालीगलौच गर्ने र धम्की दिने तथा स्वास्थ्य मन्त्रालयमा गरिएको दुव्र्यवहार र प्रहरी दलबलको प्रयोगले आफूहरुमाथि अत्यचार भएको भन्दै उनीहरुले घोर भत्र्सना समेत गरे । 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रकी सचिव नर्स रविता सिटीखुले विरामी र नर्सहरुबीचको सम्बन्ध राम्रो होस भनेर नै आफूहरु आन्दोलित भएको स्पष्ट पारिन् ।

उनले भनिन्,‘हामीले हाम्रो समस्याहरु सुनाउँदा वार्ड नै परीवर्तन गर्ने गरिएको छ ।’ आफूहरु बैशाख ९ गतेबाट कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको र बैशाख ११ गतेबाट चरणबद्ध आन्दोलनमा होमिएको पनि उनले स्पष्ट पारिन् । 

उनले विरामीको क्वालिटी केयरको लागि नर्स र विरामीको अनुपात मिलाउनको लागि पनि आफुहरुले माग गरेको स्पष्ट पारिन् ।

उनले भनिन्,‘अस्पतालमा सेवा लिन आउने विरामीहरुलाई दुःख दिनु हुँदैन भनेर हामीले प्रत्यारोपणको लागि गरिने आवश्यक चेकजाँचको लागि अन्य निजी अस्पताल पठाउने काम गर्नुहुँदैन भनेर आवाज उठाएका थियौं । तर, अस्पतालले सुनाएन् ।’

नेपाल नर्सिङ संघ सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी ईकाई अध्यक्ष मिना खर्बुजाले अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुदेखि नै नर्सहरुमाथि विभेदकारी कदम चालेको र अन्यायमा पारेको सुनाईन् ।

उनले भनिन्,‘२०७२ सालमा नेपाल सरकारले स्थापनाकालदेखि कार्यरत कर्मचारुहरुलाई स्वतः स्थायी गर्ने भनेर चिठ्ठी पठाएको थियो । तर, निर्देशकले कर्मचारीहरुलाई त्यो अवसर प्रदान गर्नुभएन् ।’


प्रतिकृया दिनुहोस