आइसिसीको टी-२० वरीयतामा पारस ३८ औँ, सोमपाल ४९ औँ र वसन्त ६९ औँ स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार जारी गरेको टी–२० पुरुष वरीयतामा तीन नेपाली खेलाडीले स्थान बनाएका छन् । राष्ट्रिय सिनियर टोलीका कप्तान पारस खड्का, वसन्त रेग्मी तथा सोमपाल कामीले टी–२० वरीयता पाएको आइसिसीले जनाएको छ । अलराउन्डरतर्फ कप्तान पारस यथावत् स्थानमै छन् । ३८औँ स्थानमा रहँदा पारसले ७६ अंक पाएका छन् । पारसको यो करिअरकै राम्रो वरीयता स्थान हो । 


पारसभन्दा पछाडि रोहित

टी–२० अलराउन्डर वरीयतामा भारतका चर्चित ब्याट्सम्यान रोहित शर्मा पारसभन्दा दुई स्थानले पछाडि छन् । यसैगरी, बंगलादेशका सौम्य सरकार, इंग्ल्यान्डका जोए रुट तथा वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान किरन पोलार्ड पनि पारसभन्दा पछाडि छन् । पारसभन्दा एक स्थान अगाडि पाकिस्तानका इमाद वासिम छन् । 


सोमपाल ४९औँ स्थानमा

टी–२० अलराउन्डरमा सोमपाल ४९औँ स्थानमा छन् । पारसभन्दा उनी ११ स्थानले पछाडि छन् । सोमपालले एक स्थान सुधार गरेका हुन् । अघिल्लोपटक उनी ५०औँ स्थानमा थिए । यसपटक सोमपालले अलराउन्डरमा ६० अंक पाए । सोमपालभन्दा एक स्थानमाथि मोइन अली छन् । सोमपालले अस्ट्रेलियाका नाथन कोल्टर निल र अफगानिस्तानका गुल्वदिन नैवलाई पछि पारे । यता बलिङ वरीयतामा सोमपाल ६८औँ स्थानमा रहेको आइसिसीले जनाएको छ ।


ब्याटिङमा पारस तीन स्थान तल

अलराउन्डरमा राम्रो वरीयता पाएका पारस टी–२० ब्याटिङ वरीयतामा भने तीन स्थान तल झरेका छन् । यसपटक उनी ९५औँ स्थानमा रहे । यसपटक उनले तीन सय पाँच अंक बटुलेका छन् । अघिल्लोपटक उनी ब्याटिङ वरीयताको ९२औँ स्थानमा थिए । 


वसन्तको दुई स्थान सुधार

नेपालका भेट्रान बलर वसन्त रेग्मी टी–२० बलिङ वरीयताको ६९औँ स्थानमा छन् । वसन्तले यसपटक दुई स्थान सुधार गरेका छन् । अघिल्लोपटक उनी ७१औँ स्थानमा थिए । उनी अलराउन्डर र ब्याटिङ वरीयतामा पर्न सकेनन् । बलिङ वरीयतामा सोमपाल र वसन्तले समान चार सय नौ अंक बटुलेका छन् ।


नेपाल १४औँ स्थानमै

आइसिसी टी–२० राष्ट्रको वरीयतामा नेपाल १४औँ स्थानमै छ । नेपालले सात खेलबाट ४३ अंक बटुलेको छ । पाकिस्तान एक सय ३५ अंकका साथ शीर्ष स्थानमा छ । भारत एक सय २२ अंकका साथ दोस्रो स्थानमा छ । इंग्ल्यान्ड तेस्रो स्थानमा छ । 


रसिद, बाबर र म्याक्सवेल शीर्ष स्थानमा

टी–२० बलिङ वरीयतामा अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् । उनले सर्वाधिक सात सय ८० अंक जोडेका छन् । यसैगरी, ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर अजाम आठ सय २५ अंकका साथ शीर्ष स्थानमा रहे । अलराउन्डरमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...