बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी एक हुँदै

भयो अध्यक्ष भट्टराई र कार्यकारी अध्यक्ष यादव बन्ने सहमति

काठमाडौं । नेपाली राजनीतिमा कहिले पनि स्थायी शत्रु र स्थायी मित्रपनि हुँदैन । त्यही भएर कुनै केला कट्टर आलोचक भनिएका दलहरु पनि एक हुँदै आएका छन् । यसको पछिल्लो उदाहरण हो पूर्व एमाले र माओवादी बीचको एकता । 

फेरि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गर्दै आएको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवले नेतृत्व गर्दै आएको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने भएको छ । एकीकरण टुङग्याउनका लागि नै फोरमले २७ गतेदेखि गर्ने तय गरेको महाधिवेशन सार्न लागेको छ ।

केही दिनभित्रै एकीकरण सक्ने गरी भट्टराई र यादव बीचको वार्ता चलिरहेको छ । निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ ।

महाधिवेशन सार्ने तथा एकीकरण वार्ता टुङग्याउने विषयमा निर्णय लिन फोरमले शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ भने नयाँ शक्तिले पनि एकीकरण वार्ता सकारात्मक मोडमा पुगेपछि त्यसलाई अनुमोदन गर्न शुक्रबार नै सचिवालय बैठक बोलाएको छ ।

पार्टीको नामसहित बाँकी कुरा टुंग्याउन दुवै पक्षको बीचमा बुधबार राति अबेरसम्म बैठक चलेको थियो । नयाँ शक्तिका तर्फबाट भट्टराईका प्रतिनिधिका रूपमा नवराज सुवेदी र गंगा श्रेष्ठ र फोरम अध्यक्ष यादवका तर्फबाट राजेन्द्र श्रेष्ठ र रामसहाय यादवले एकीकरण वार्ता गरिरहेका छन् ।

दुवै पक्ष २५ सदस्यीय राष्ट्रिय कार्यकारी परिषद् बनाएर पार्टी एकीकरण गर्न तयार भएका छन् । एकीकृत पार्टीको अध्यक्षमा पूर्वप्रधानमन्त्री भट्टराई रहने छन् भने कार्यकारी अध्यक्ष यादव रहने मोटामोटी सहमति भएको छ । २५ सदस्यीय परिषदमा १६ जना फोरम नेपालबाट तथा ९ जना नयाँ शक्तिका तर्फबाट रहने छन् ।

गत मंसिर दोस्रो साता बसेको संघीय समाजवादी फोरम नेपालको सचिवालय बैठकले विचार र मुद्दा मिल्ने दलसँग एकीकरण र मोर्चाबन्दी गर्ने निर्णय गरी राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता टोली पनि गठन गरेको थियो । फोरम वार्ता टोली गठन गरे लगत्तै राजपा नेपाललाई समेत एकीकरणका लागि पत्र पठाएको थियो । 

प्रतिकृया दिनुहोस