नेपाली यू–१६ टोली हङकङलाई हराउँदै एशियाली क्रिकेटको फाइनलमा

फाइनल खेल आइतवार

काठमाडौँ ।  नेपालको १६ वर्षमुनिको क्रिकेट टोलीले हङकङलाई पराजित गर्दै एशियाको पूर्वी क्षेत्रको प्रतियोगिताको फाइनलमा पुगेको छ ।

थाइल्यान्डमा भइरहेको प्रतियोगितामा साबिकको विजेता नेपालले हङकङलाई चार विकेटले पराजित गरेको हो । हङकङले ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएकोमा नेपालले २१.४ ओभरमा छ विकेट गुमाएर सो लक्ष्य सहजै प्राप्त गरेको छ । फाइनल खेल आइतवार हुनेछ ।

थोरै रनको लक्ष्य पाएको नेपालले लगातार विकेट गुमाएपनि जित्न गार्‍हो परेन । सबैभन्दा बढी १७ रन आशिष भट्टराईले बनाएका थिए । रोहन दुधराज विश्वकर्माले १४ र क्रिस कार्कीले नट आउट १२ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले राम्रो प्रदर्शन गर्न सकेन । पहिलो ओभरमै विकेट गुमाएपछि नेपालका बलरहरूले राम्रो बलिङ गरे ।

कप्तान आरूष भागवतले नट आउट रहँदै ४३ रन बनाएपनि अरू कुनै खेलाडीले दुई अङ्कको रन सङ्ख्या टेक्न सकेनन् । नेपालका निखिलकुमार सिंहले चार विकेट लिए भने विशालकुमार पटेल र रमेश कुर्मीले दुई(दुई विकेट लिए ।


प्रतिकृया दिनुहोस