एसीसी यू-१६ क्रिकेट: फाइनल प्रवेशका लागि नेपाल र हङकङ भिड्दै

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज हङकङसंग प्रतिस्पर्धा गर्दैछ ।

समूह 'ए' विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह 'बी' को उपविजेता हङकङसंग फाइनल प्रवेशका लागि खेल्न लागेको हो । थाइल्याण्डको चियाङमाईमा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार ९ :१५ मा सुरु हुनेछ ।

हङकङविरुद्ध मैदान उत्रदा नेपाल फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रने छ । साविकको विजेता समेत रहेको नेपाललाई फाइनल पुग्नु दबाब समेत हुनेछ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले हङकङलाई सहजै हराउने अनुमान गरिएको छ । समूह चरणमा ३ खेलबाट ५ अंक जोडेर नेपाल समूह विजेता बनेको थियो ।

नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डसंग १/१ अंक बाडेको थियो । बर्षाको कारण खेल रद्द भएपछि नेपाल र थाइल्याण्डले अंक बाडेको हो ।

हङकङ पनि नेपाललाई पराजित गर्दै फाइनल पुग्न चाहन्छ । तर,हङकङले नेपाललाई अहिलेसम्म हराउन सकेको छैन । पछिल्लो दुई भेटमा नेपालले दुवै खेलमा जित निकालेको छ ।

समूह 'बी' मा रहेको हङकङले ३ खेलबाट ३ अंक जोडेर उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको थियो ।

प्रतियोगिता अन्तर्गत नै अर्को सेमिफाइनलमा समूह 'बी' को विजेता सिंगापुरले समूह 'ए' को उपविजेता मलेसियासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस