पत्रकारिताले नपत्याएका पोख्रेल, जो सफल प्रोफेसर बने

काठमाडौं । कुरा २०४२ को हो, जतिबेला नेपालको पत्रकारिता सुरुवाती चरणमा थियो । त्यतिबेला नेपालको पत्रकारितामा शिक्षाको स्थिति डामाडोल नै थियो ।त्यतिबेला राजा विरेन्द्रको पालामा श्री ५ को सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता विषयमा अध्ययनको लागि सोभियत संघ (हालको रुस) को लागि आवेदन माग्यो । उनी पढाइमा सधैं राम्रो नम्बर ल्याउने विद्यार्थी भएका कारण छात्रवृत्तिको परीक्षा दिँदा प्रथम श्रेणीमै नाम निकाले । ११ जना प्रतिस्पर्धीमध्ये पहिलो नम्बरमा नै नाम निकाल्ने व्यक्ति हुन् प्रबलराज पोख्रेल ।

हाल पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागका सहप्राध्यापक पोख्रेल सोभियत संघमा ६ वर्ष अध्ययन गरेर फर्किएपछि नेपालको शिक्षा क्षेत्रमा लागेर उनले लामो समयदेखि प्राध्यापन पेशा अंगालिरहेका छन् ।

उनलाई अहिले पनि सोभियत संघका लागि आवेदन दिएर उत्तीर्ण भए अन्तर्वार्ताका क्रममा सोधिएको प्रश्नले सधैं झस्काउने गर्छ । अन्तर्वार्ताका क्रममा उनको उत्तरबाट प्रभावित भएर नेपाल सरकारका सचिव लगायतका अन्य विशिष्ट प्रोफेसरहरुले ‘तिमीले उता पढेर आयौं भने देशका लागि धेरै गर्न सक्छौं त ?’ भनेका थिए । उनको सहज उत्तर थियो, ‘हजुरहरुको आशिर्वाद पाएँ भने असम्भव छैन ।’

पत्रकारिताले पत्याएन 

६ वर्षको अध्ययनपछि जब उनी नेपालको पत्रकारिता क्षेत्रमा केही गर्छु भन्ने उद्देश्य लिएर आए । पहिलोपटक कान्तिपुर दैनिकमा काम गर्न भनेर आवेदन बोकेर कान्तिपुरको कार्यालय पुगे । तर, दुर्भाग्य उनको आवेदन अस्वीकृत गरिदियो । कान्तिपुरले उनलाई पत्याएन । 

राइजिङ नेपाल र रेडियो नेपालमा पनि पुगे । उनले त्यो बेला नेपाल सरकारले नै पठाएको भनेर जाँदा त्यहाँ पनि अवसर पाएनन् । कुनै पनि मिडियामा काम गर्ने अवसर नपाएपछि उनी त्रिभुवन विश्वविद्यालयमा पुगेका थिए । त्यसपछि उनले बाटो मोडे ।

उनलाई पत्रकारिता गर्ने खुबै रहर थियो । त्यही भएर कहिले कान्तिपुर त कहिले सरकारी सञ्चार माध्यममा निवेदनको ठेली बोकेर धाइरहे । तर, उनलाई त्यो बेला नेपाली सञ्चार माध्यमले विश्वास नै गरेन । अर्थात् उनले पत्रकारिता गर्लान् भनेर पत्याएन ।  

पत्रकारिता नै नगरे पनि नेपालको पत्रकारिता विषयलाई अनुसन्धानमा लैजान उनको विशेष योगदान रहेको पाइन्छ । सुरुवाती चरणमा जब उनले पढाउन सुरु गरे, त्यतिबेला कुनै पनि पाठ्यपुस्तक थिएन् । विभिन्न विषयका पाठ्यपुस्तक उनी लगायत अन्य शिक्षकले नै बनाएर पढाउने गर्थे । 

जब पाठ्यक्रम बनाउने कुरा आयो, उनले पनि सोभियत संघमा सिकेको ज्ञानलाई पाठ्यक्रममा समावेश गर्ने मौका थियो । तर अर्काे दुर्भाग्य,  अमेरिकन शिक्षा प्रणालीको हावी भइरहेका बेला उनको सिकाई समावेश हुन सकेन । ‘यदि नेपालमा पूर्वीय शिक्षा प्रणालीलाई समावेश गरिन्थ्यो भने नेपालको शिक्षा प्रणालीले ठूलै परिवर्तन गर्ने थियो’, उनी भन्छन्, ‘त्यो एउटा मौका मैले चुकाए ।’

पत्रकारिता गर्ने भोक जगाएका पोख्रेलले कुनै पनि सञ्चार माध्ययमा काम गर्ने अवसर पाएनन् । तर उनी शिक्षण पेशमा नै रमाइरहेका छन् । उनले पढाएका कतिपय विद्यार्थी पत्रकारिता क्षेत्रमा नै काम गरिरहेका छन् भने कतिपय विभिन्न कम्पनीमा काम गरिरहेका छन् । 

आफूले पढेको कुरालाई व्यवहारमा उतार्न पर्ने मान्यता राख्ने पोख्रेल आफूले पढेको कुरालाई व्यवहारिक जीवनमा अपनाउन आग्रह गर्छन् । पत्रकारिता विषय पढेर पत्रकारितामा मात्र नभई धेरै वटा क्षेत्रमा काम गर्न सकिन्छ भन्नेमा उनी जोड दिँदै आएका छन् । 

आफ्नो विचार खुल्ला रुपमा राख्ने उनी पहिले विभिन्न पत्रपत्रिकामा विचारहरु प्रकाशित गर्ने गर्थे । तर आफ्नो विचारले मात्र समाज परिवर्तन नहुने देखेपछि उनी लेखनमा खासै सक्रिय छैनन् । 

शिक्षण पेशामा रम्दै

नेपाली शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने मान्यतामा सधैं विश्वास राख्छन् उनी । हाल उनले पढाएका विद्यार्थी अमेरिकाको हार्वड युनिभर्सिटिमा समेत अध्ययन गरिरहेका छन् । 

नेपालका विद्यार्थी विश्वका अन्य विद्यार्थीसरह नै योग्य भए पनि नेपाली शिक्षा प्रणाली नै खराब भएका कारण उनीहरु नेपाली बजारमा योग्य हुन नसकेको कुरालाई जोड दिँदै आएका छन् । 

पहिले विद्यार्थीहरुलाई विद्यालयमा अनुशासनका कुरा पर्याप्त सिकाइने भए पनि पाश्चात्य संस्कृति भित्रिएसँगै कितावी ज्ञानमा मात्र सीमित राखिएकोमा उनको दुःखेसो छ । ‘नेपाली विद्यार्थीलाई कसरी उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्ने कुरा सिकाइन्छ, तर कसरी व्यवहारिक बन्ने भन्ने सिकाइँदैन’ उनी भन्छन्, ‘जुन हाम्रो सबैभन्दा ठूलो कमजोरी हो ।’

त्यसो त नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि चुनौती उत्तिकै छ । कर्मचारीको मुख्य चुनौती भनेको उचित पारिश्रमिक नपाउनु नै हो । जबसम्म कुनै पनि कर्मचारीले नेपालमा आफ्नो योग्यता अनुसारको पारिश्रमिक पाउँदैन, तबसम्म योग्य जनशक्ति विदेश जाने क्रम पनि रोकिँदैन । सरकारले १३ हजार रकमलाई हालको न्यूनतम पारिश्रमिक नबढाएसम्म नेपाल माथि उठ्न नसक्ने उनको तर्क छ । 

शिक्षा अनुसन्धानमूलक भएन 

हालसम्म पनि नेपाली शिक्षा अनुसन्धानमूलक बन्न सकेको छैन । अनुसन्धानमा जान नसक्दा नेपाली शिक्षाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकेको छैन । विद्यालय स्तरबाट नै विद्यार्थीलाई प्राविधिक र व्यवहारिक ज्ञान दिन नसक्दा उनीहरुले सोचेअनुरुप प्रतिफल दिन सकेका छैनन् । शिक्षामा पश्चिमा संस्कृति भित्र्याउन नहुने बताउने पोख्रेल वैदिक पूर्वीय प्रणालीलाई नै सरकारले अवलम्बन गर्दै जानुपर्ने सुझाव दिन्छन् । 

आफूले नीजि विद्यालयबाट पढेर आउँदा पहिले कम मूल्यमा गुणस्तरीय शिक्षा पाएका उनी हाल नीजि विद्यालयले मनोमानी रुपमा चर्काे मूल्य उठाएकोमा गम्भीर छन् । छुट्टाछुट्टै कलेजमा क्याम्पसहरुमा फरक किसिमका पाठ्यक्रममा पढाइ हुुँदा समान किसिमको शिक्षा दिन नसकिने उनी बताउँछन् । 

२०१८ सालमा काठमाडौँको डिल्लीबजारमा जन्मिएका पोख्रेलको पुख्र्यौली घर भने खोटाङ हो । पहिलेदेखि नै शिक्षाको हिसाबले उनको पारिवारिक माहोल पनि राम्रो थियो । बुवा इन्जिनियर भएर पनि आर्थिक रुपमा उनको परिवारले निकै नै संघर्ष गर्नुपरेको थियो । 

एक शिक्षित परिवारमा हुर्किएका पोख्रेल आफ्नी आमाबाट निकै प्रेरित छन् । परिवारको आर्थिक अवस्था सन्तोषजनक नभए पनि उनकी आमाको मनमा भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना थियो । खोटाङबाट आउने हरेक विद्यार्थीलाई सहयोग गर्न कहिल्यै पछि नहट्ने उनकी आमाको बानी थियो । 

परिवारकै प्रेरणाबाट उनले स्वाभिमानी बन्नुपर्छ भन्ने प्रेरणा पाएका थिए । हालसम्म पनि कुनै पनि राजनीतिक पार्टीमा झुकाव नभएका उनीबाट अहिलेका नयाँ पुस्ताले आफ्नै योग्यताबाट पनि जीवनमा धेरै सफलता पाउन सकिन्छ भन्ने ज्ञान पाउन सक्छन् । हाल उनी देश र समाज दुवैको लागि एक उदाहरणीय पात्र बन्न सफल भएका छन् । 

हाल युवापुस्ता शिक्षाको नाममा विदेशमा गएर उतै बस्ने परिपाटी बढ्दै गइरहेको समयमा विदेशमा पढेको ज्ञानलाई स्वदेशमा नै उपयोग गर्न सकिन्छ भन्ने सिक्न सक्छन् । चाहेका भए उनी पनि उतै सधैंका लागि बस्न सक्थे । तर देशलाई परिवर्तनको खाँचो छ, मैले देशका लागि केही गर्न सक्छु भन्ने उद्देश्यले स्वदेश नै रोजे । 

साधारण पसल चलाएर मात्र प्रतिस्पर्धा हुँदैन, प्रतिस्पर्धाका लागि नयाँ कलकारखाना खोल्नुपर्छ । उनको बुझाई यही छ । उनले हालसम्म पनि आफ्नो कुनै पनि पदका लागि कसैसँग पनि हात थाप्दै हिँडेका छैनन् । आफ्नो दक्षतालाई अरुसँग बिकाउन नहुनेलाई उनी जोड दिँदै आएका छन् ।

आमसञ्चार क्षेत्रलाई नजिकबाट नियाल्ने अवसर पाएका उनले पर्यटन क्षेत्रमा समेत काम गरेका छन् । उनले ‘सोसियो इकोनोमिक जर्नल’ मुल सम्पादक समेत निकालेर काम गर्ने अवसरसमेत पाएका थिए ।

राजनीतिमा अरुची

राजनीतिक परिवारमा हुर्किए पनि उनमा भने त्यसप्रति अलिकति पनि लगाव थिएन् । यदि उनलाई राजनीतिप्रति झुकाव भएको भए जताततै अवसर पाउने थिए होला । उनमा कहिल्यै कुनै पनि पदको लोभ भएन । हालसम्म पनि उनमा राजनीति गर्ने कुनै पनि शोख छैन । 

सरकार ठूलो जञ्जालमा फसिरहेको उनको दावी छ । नेपालले कम्प्यूटर साइन्स र सञ्चारको क्षेत्रमा लगानी गर्न सक्यो भने हजारौं युवाले देशभित्रै रोजगारीका अवसर पाउनेमा उनी विश्वस्त छन् । सरकार आफैं अन्यौलतामा फसेको बेला देशले निकास पाउला कि नपाउला भन्ने प्रश्न पनि खड्किन थालेको छ उनको मनमा । 

नयाँ पुस्ताले देश र स्वाभिमानको लागि लड्नुपर्ने उनी जोड दिँदै आएका छन् । हाल ५८ वर्षमा पनि उनी उत्तिकै जोसिला र सक्रिय देखिन्छन् । पोख्रेलबाट हामीले आफ्नो पदका लागि कसैसँग पनि बिक्नु र झुक्नुहुँदैन भन्ने शिक्षा पाउन सक्छौं ।

प्रतिकृया दिनुहोस