सामाजिक सञ्जालमा मानिस किन नकारात्मक र आक्रोशित देखिन्छन्?

काठमाडौँ । सामाजिक सञ्जालमा दार्शनिक पात्रदेखि रमाइला व्यक्ति र निकै ज्ञानवान् मानिसदेखि भ्रममा बाँच्नेहरूसम्म भएकाले सामाजिक सञ्जाल चाखलाग्दो भएको केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो फलोअरको सङ्ख्या दुई लाख पुग्दा सबैलाई धन्यवाद दिँदै एउटा सन्देश लेखे ।

ज्ञवालीको ट्वीटमा धेरैले प्रतिक्रिया जनाए । प्रतिक्रिया जनाउनेमध्येकी एक निर्मला ढकाल पनि थिइन् । उनले मन्त्री ज्ञवालीलाई यति धेरैले गाली गर्दा पनि मनोरञ्जन गर्न सक्नु भएकोमा बधाई भन्दै जबाफ फर्काइन् । मन्त्री ज्ञवालीले रचनात्मक आलोचना ऐनाजस्तै भएको र मानिसले आफूसँग जे छ त्यही दिने भन्दै तत्काल प्रतिक्रिया लेखे ।

अर्का व्यक्ति कृष्ण घिमिरेले ज्ञवालीको बुझाइको प्रशंसा गर्दै सही रूपमा बुझ्न सके आलोचना सकारात्मक विषय रहेको र आलोचनालाई नकारात्मक सम्झेर प्रतिक्रिया जनाउने प्रवृत्ति रहेको भन्दै आलोचनाप्रति सहिष्णु बन्नु र पाठ सिक्नु श्रेयस्कर रहेको प्रतिक्रिया जनाए ।

ट्विटर मात्र नभएर फेसबुक र अन्य विभिन्न सामाजिक सञ्जालमा प्रायस् प्रयोगकर्ता नकारात्मक प्रतिक्रिया वा टिप्पणी दिने प्रवृत्ति हाबी रहेको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको पाइन्छ । सामाजिक सञ्जालमा आखिर किन नकारात्मक मनोवृत्ति देखिन्छ त ?

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागका प्राध्यापक डाक्टर शिशिर सुब्बा सञ्चारका अधिकांश माध्यमले सकारात्मक खबरको तुलनामा नकारात्मक सामग्रीलाई प्रोत्साहन गर्ने हुँदा सर्वसाधारणले पनि त्यसैमा बढी विमर्श गर्ने बताउँछन् ।

मानिसले जे सुन्यो त्यही विषयमा कुरा गर्ने होसुब्बाले भने, यो नेपालको मात्र हैन विश्वव्यापी रूपमै देखिएको समस्या हो । नेपालको हकमा भने राजनीतिक व्यवस्थामा रहेका व्यक्तिहरूले गल्ती नस्वीकार्ने हुँदा मानिसहरू थप प्रतिक्रियावादीू हुँदै गएको उनको अनुभव छ । सही गलत जे भए पनि सरकारी स्तर वा जिम्मेवार व्यक्तित्वहरूले विधिको शासनको सम्मान गर्दै आफ्नो कार्य गर्ने हो भने त्यसैले जनमानसमा भएको निराशा केही हद सम्म कम हुने सुब्बाको विश्वास छ ।

ज्ञवालीको ट्वीटमा प्रतिक्रिया जनाएकी समाजशास्त्री निर्मला ढकाल सामाजिक सञ्जालमा एउटा वर्गको एउटा उमेर समूहको व्यक्तिहरूको सोचाइ कस्तो छ भन्ने कुराको प्रतिविम्ब देखिने बताउँछिन् । मुलुकमा व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता र सञ्चारमाध्यममा आउने खबरका कारण पनि यस्तो अवस्था सिर्जना भएकोमा उनको पनि सहमति छ ।

उच्चमाध्यमिक तहदेखि स्नातकोत्तर तहसम्म पढाउँदा दैनिक जसो विभिन्न उमेर समूहका विद्यार्थीहरूसँग कुराकानी हुन्छ । उनीहरूसँग छलफल गर्दा सकारात्मक प्रभाव देखिँदैन। चारैतिर नकारात्मक पूर्वाग्रह देखिन्छ, त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र क्याम्पसमा अध्यापन गर्ने ढकालले बीबीसी नेपाली सेवासँग भनिन् ।

यसको कारण भनेको हाम्रो समाजमा व्याप्त नकारात्मक प्रभाव नै हो। यसले मानिसलाई निराश बनाएको छ । सहरमा जीवनयापन गर्नेहरू र सानो परिवारमा हुर्किने मानिसहरूमा सन्तुलित रूपमा विकास हुने वातावरण नरहने हुँदा पनि नकारात्मक प्रभाव परेको हुन सक्ने उनको अनुमान छ । सामाजिक सञ्जालबारे निश्चित सीमा नहुनेहुदाँ पनि नकारात्मक कुरा चाँडो फैलिने गरेको उनको बुझाइ छ ।

त्यसो त सामाजिक सञ्जालमा सकारात्मक बहस हुँदै नहुने भने होइन । कुनै पनि किसिमको प्राकृतिक विपत्ति होस वा नेपाली खेलाडी वा टोलीको प्रदर्शन होस् सामाजिक सञ्जालमा त्यसबारे सकारात्मक विमर्श हुने गरेको पाइन्छ । आपत् परेकालाई रगतको जोहो गर्नेदेखि लिएर केही वर्षअघि भारतले लगाएको आर्थिक नाकाबन्दीका बेला एकअर्कालाई आफ्नो निजी सवारीसाधनमा ओसारपसार गर्ने जस्ता सराहनीय र समाजमा सकारात्मक प्रभाव फैलाउने कार्य भएको जानकारहरूको बुझाइ छ । तर त्यस्ता किसिमका घटना परिघटना सकिनासाथ फेरि तिनै मुद्दामा नकारात्मक टीकाटिप्पणी सुरु हुने गरेको देखिन्छ । कुरा घुमिफिरी फेरि राजनीतिमै जोडिन आउँछ सुब्बाले थपे।


प्रतिकृया दिनुहोस