विश्वकप क्रिकेटको एशिया छनोट खेलमा नेपालले हरायो ओमानलाई

काठमाडौं । उन्नाइस वर्षमुनिको आईसीसी (यू–१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ ।

यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा युएइसँग एक रनले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले हराएको थियो ।

मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा मंगलबार भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गर्न आएको ओमानले ४४.१ ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनाउन सफल भएको थियो । नेपालका लागि पवन सर्राफले ३ विकेट तथा प्रतिस जीसी, सूर्य तामाङले २(२ विकेट लिएका थिए । यस्तै कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीले १–१ विकेट लिएका थिए ।

ओमानका लागि पुच्छारका दुई ब्याट्स्म्यानले मात्रै दोहोरो अंक जोड्न सफल भएका थिए । नेपाली टोलीका भने कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । त्यसैगरी प्रतिष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ तथा रित गौतमले १० रन जोडे ।

प्रतिकृया दिनुहोस