बेवारिसे शिशुले १५ दिनपछि पाए अभिभावक

Baby

झापा । झापाको भद्रपुर नगरपालिका–८ मा १५ दिनअघि बेवारिसे अवस्थामा फेला परेको नवजात शिशुले वैधानिक संरक्षक पाएको छ । यही चैत १३ गते राति सगरमाथा चोकस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बेवारिसे शिशु फेला परेपछि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले मेची अञ्चल अस्पताल भद्रपुरमा बुझाएका थिए ।

अस्पतालको संरक्षणमा रहेको शिशुलाई जिल्ला बालकल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मेचीनगर–७ सतिगठ्ठाका ४३ वर्षीय कमलप्रसाद खनाल र ४० वर्षीया हरिमाया दम्पतीलाई हस्तान्तरण गरेका हुन् ।

सो शिशु धर्मपुत्रका रूपमा पाऊँ भनी खनाल दम्पतीले चैत १४ गते नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराई अस्पतालमा शिशुको स्याहारसुसार गर्दै आएको थियो ।

विवाह भएको १८ वर्षसम्म सन्तान नभएको र चिकित्सकले पनि गर्भधारण हुन नसक्ने जानकारी गराएकाले सो दम्पतीलाई शिशु हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए ।

कार्यालयमा तीन निवेदन परेका थिए । निवेदन दिएका व्यक्ति र शिशुका बारेमा बुझ्नका लागि बालकल्याण समितिका सदस्य इन्द्रप्रसाद ओलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले स्थलगत अवलोकन गरी बुझाएको प्रतिवेदनका आधारमा खनाल दम्पतीलाई शिशु हस्तान्तरण गरिएको सहायक प्रजिअ पौडेलले बताए ।

बालकल्याण समितिका पदाधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनाली, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरसहित अन्य सरोकार पक्षको उपस्थितिमा शिशु हस्तान्तरण गरिएको छ ।

बालकल्याण समितिले अहिले ती दम्पतीलाई शिशुको संरक्षकका रूपमा मात्रै अधिकार दिएको छ । सहायक प्रजिअका अनुसार शिशु हस्तान्तरणपछि नियमित अनुगमन गरेर निश्चित अवधिभित्र विभिन्न कानूनी प्रक्रिया पूरा गरेर मात्रै खनाल दम्पतीको धर्मसन्तानका रूपमा आधिकारिता प्रदान गरिनेछ ।

प्रतिकृया दिनुहोस