एउटै घरमा ५ जना अधिकृत, यसरी बने उनीहरु सरकारी अधिकृत

Pokhrel pariwar news

काठमाडौं । सरकारी सेवामा नाम निकाल्ने र मुलुकको प्रशासक बन्ने रहर कसलाई पो हुँदैन र ? मुलुकको कुशल प्रशासक बन्ने रहर पनि धेरैले पालेका हुन्छन् ।

तर, सफलता पाउने अवसर कमैलाई हुन्छ र कमैले अवसर पाउँछन् । यस्तै अवसर अर्घाखाँचीका पोख्रेल परिवारलाई मिलेको छ । जुन परिवारका पाँच जना दाजुभाइ तथा दिदीबहिनी नै अधिकृत हुन सफल भएका छन् ।

‘आमा जानकी सामान्य गृहिणी, बाबु टुकलाल गाउँको प्रतिष्ठित पण्डित, गाउँघरमा सरकारी सेवामा नाम निकालेर जागिर खाने कोही थिएनन् । सितगंगा नगरपालिका–६ चिसापानीको मध्यम वर्गीय पोख्रेल परिवारका पाँच जना छोराछारी नै शाखा अधिकृत छन्, जसले देशको प्रशासन हाक्ने अवसर प्राप्त गरिरहेका छन् । यसरी अवसर प्राप्त गर्नेमा प्रेमराज पोख्रेल, सीता पोख्रेल, सरोज, अञ्जना पोख्रेल र रञ्जिता छन् ।

अंग्रेजी र जनप्रशासनमा स्नातकोत्तर गरेका प्रेम स्थानीय विद्यालयमा माध्यमिक तहको दरबन्दीमा रहेर अध्यापन गराउँथे । झन्डै १० वर्ष अध्यापन पेसामा बिताएपछि यो पेसाबाट बिस्तारै उनको मन फेरिँदै गयो । उनले लोकसेवा आयोगको तयारी गर्न थाले र २०६९ मा लोकसेवा आयोगले लिइने शाखा अधिकृतको परीक्षामा सहभागी भए ।

उनलाई पहिलोपटक मै सफलता हात लाग्यो । उनी पछिका चार भाइबहिनीले पनि उनकै बाटो समात्न थाले । र, धमाधम शाखा अधिकृतमा नाम निकाले पनि । एक बहिनीबाहेक कसैले पनि दोस्रोपटक परीक्षा दिनु परेन । नाम निस्किएपछि प्रेमको पहिलो पदस्थापना आन्तरिक राजस्व विभाग भैरहवामा भयो । हाल उनी राजस्व अनुसन्धान विभाग ललितपुरमा कार्यरत छन् ।

सरोजले २०७० सालमा सामान्य प्रशासन समूहअन्तर्गत नाम निकाल्न सफल भए । उनको पहिलो पदस्थापन पर्यटन कार्यालय वीरगन्जमा भएको थियो । हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कार्यरत छन् । उनले व्यवस्थापन र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यतिबेला उनी सरकारकै शान्ति समितिमा समेत कार्यरत थिए ।

अन्जनाले २०७२ मा सामान्य प्रशासन समूहअन्तर्गत नाम निकालिन र गृह मन्त्रालय मातहत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको पहिलो पदस्थापना भएको थियो । उनले अंग्रेजी र जनप्रशासनमा स्नातकोत्तर गरेकी छन् । अञ्जना हाल बेपत्ता छानबिन आयोगमा पुल्चोकमा कार्यरत छिन् ।

सीताले संसद् सेवा र कान्छी रञ्जिताले सरकारी वकिलमा २०७२ सालमा एकै वर्ष नाम निकाल्दा पोख्रेल परिवारका सबै सन्तान शाखा अधिकृत बन्न सफल भए । रञ्जिताले मात्र दोस्रोपटकमा नाम निकालिन् । उनी नेपालको न्याय सेवामा नाम निकाल्ने हालसम्मकै कम उमेरकी शाखा अधिकृत हुन् ।

सीता संसद् सचिवालय सिंहदरबार र रञ्जिता जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरमा कार्यरत छन् । सीताले व्यवस्थापन र राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेकी छन् भने रञ्जिताले कानुनमा स्नातकोत्तर गर्दै छन् ।

लोकसेवामा नयाँ आउन चाहनेलाई आफ्नो योग्यता र क्षमताको कदर हुने स्थानका रूपमा बुझ्न र यसैमा विश्वास गर्न राष्ट्रसेवकको जिम्मेवारीलाई योगदान दिने अवसरका रूपमा उपयोग गर्न उनीहरूको सुझाव छ ।

एकै परिवारका पाँच शाखा अधिकृतका रूपमा मुलुकको प्रशासन हाँक्ने जिम्मा पाएको यो भाग्यमानी परिवार सरकारी सेवामा रहेर प्रभावकारी सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रमाथि लागेको कालो दाग हटाउने प्रण गर्छ । सरकारी सेवामा लोकसेवा निष्पक्ष र क्षमताको कदर हुने स्थानको भएको उनीहरूको अनुभव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...