प्रदेश पाँचमा आठौं राष्ट्रिय खेलकुद खेलहरु सूरु, पाँच खेल आज

4455

काठमाडौं । प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका खेलहरु आज (बुधबार) सूरु हुदैछ । औपचारिक उद्घाटन बैशाख ५ मा भनिएपनि प्रतियोगिताका खेलहरु आज सुरु हुन लागेको हो । पहिलो दिन आज ५ खेलका प्रतिस्पर्धा सुरु हुनेछ ।

दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उच्च माविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।

यस्तै महिला हक्की नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि मात्र सुरु हुनेछ ।

आठौंको उद्घाटन अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेको छ ।

आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।

आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।

स्क्वास :
स्क्वासमा प्रदेश १, २, ३, ४, ५, नेपाल प्रहरी र एपीएफ क्लबबाट २४ पुरुष र ५ महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष÷महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता बैशाख २ गते सम्पन्न हुनेछ ।
 
हक्की :
हक्कीको पुरुषमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित ९ टिमले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । फाइनल बैशाख ४ गते हुनेछ ।
 
महिला हक्की भने चैत ३० गतेदेखि नेपालगन्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी ६ टिमले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरुमा प्रदेश १, २, ३, ४ र ७ तथा आर्मी छन् । सातौं राष्ट्रियमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल बैशाख ५ गते हुनेछ ।
 
लनटेनिस :
बुटवलमा हुने लनटेनिसमा प्रदेश ३, ४, ५, आर्मी, एपीएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष-महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ ।
चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा एनआरएनएबाट ३ पुरुष खेलाडी संरक्षकभूषण वज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा (थाइल्यान्ड) ले प्रतिस्पर्धा गर्ने छन् ।
 
कुस्ती :
कुस्तीमा पुरुष-महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय (आमी-प्रहरी) गरी ९ टिमले भाग लिने छन् ।
 
टेबलटेनिस :
टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय (आर्मी-प्रहरी-एपीएफ) बाट १ सय २० खेलाडीले प्रतिस्पर्धा  गर्नेछन् । पुरुष-महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धा समावेश छन् ।
 
 

प्रतिकृया दिनुहोस