दोस्रो चरणको छनोटमा नेपाल भारतसंग ३-१ गोल अन्तरले पराजित

Game

काठमाडौं । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल भारतसंग ३-१ गोल अन्तरले पराजित भयो ।

मण्डलारथिरी स्टेडियममा भारतलाई जित दिलाउन सन्ध्या र अशलता देवीले एक एक गोल गरिन् । भारतले एक गोल आत्मघाती उपहार पाएको थियो  । नेपालकी पुनम मगरले आत्मघाती गोल गर्दा कप्तान निरु थापाले एक गोल फर्काइन् ।

भारतविरुद्ध पहिलो हाफमा १-१ गोलको बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । खेलको छैटौं मिनेटमा पुनमले आत्मघाती गोल गर्दा भारतले १-० को अग्रता बनाएको थियो । तर, सातौं मिनेटमा नेपालकी कप्तान निरु थापाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याईन् ।

दोस्रो हाफमा भारतले आक्रमक खेल खेल्यो । खेलको ६० औं मिनेटमा सन्ध्याले गोल गर्दै भारतको अग्रता २-१ को बनाईन् । त्यसपछि ७८ औं मिनेटमा कप्तान अशलता देवीले पेनाल्टीमा गोल गर्दै भारतलाई ३-१ को जित दिलाईन् ।

जितसंगै भारतले ओलम्पिक छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । भारतले २ खेलबाट ६ अंक जोडेको छ  । भारतसंग पराजित भएसंगै समूह 'बी' को नेपाल दोस्रो चरणको छनोटबाटै बाहिरिएको छ । नेपालले दुई खेलमा अंक जोड्न सकेको छैन । अब नेपालले मंगलबार अन्तिम खेलमा इन्डोनेसियासंग खेल्ने छन् । छनोटको शीर्ष टोलीले तेस्रो चरणको छनोटमा स्थान बनाउने छन् ।

 

प्रतिकृया दिनुहोस