विद्युत प्राधिकरण भक्तपुरको दादागिरी : चुहावटको बहानामा ग्राहकमाथि खेलबाढ

Vaktapur bidhyut news 21

भक्तपुर । उनै कुलमान घिसिङ हुन्, जले नेपालमा भइरहने लोडसेडिङलाई हटाएर मुलुकलाई झलमल्ल बनाए । तर, उनैको मातहतमा रहेको नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र भक्तपुरले भने ग्राहकलाई अनावश्यक रुपमा दुःख दिँदै आएको छ ।

पछिल्ला दिनमा प्राधिकरणले जनताको मन पनि जितिरहेको छ । तर, नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रको बदमासीले प्राधिकरणलाई नै बदनाम गराइरहेको छ ।

‘काहीँ नभएको जात्रा हाडी गाउँमा’ त्यसै भनिएको होइन । त्यसमा पनि पदमा पुगेपछि जनतालाई सेवा दिने हो । तर, सेवाका नाममा अनावश्यक दुःख दिने र अनेक बहानामा आफ्नो शक्ति देखाउने काम भइरहेको छ प्राधिकरणको भक्तपुर वितरण केन्द्रमा ।

पछिल्लो दिनमा भक्तपुर वितरण केन्द्रले ग्राहकलाई कसरी अनावश्यक रुपमा दुःख दिइरहेको छ भन्ने कुरा एकपछि अर्काे गर्दै खुल्न थालेको छ । तर विडम्बना, यति हुँदा पनि कुलमान घिसिङ, जो विद्युत प्राधिकरणको सुधार गर्ने खम्बाको रुपमा चिनिएको छन्, स्वयम् उनले पनि त्यतातर्फ ध्यान दिएका छैनन् ।

अर्थात् उनी भक्तपुर वितरण केन्द्रले धेरै राजश्व उठायो भनेर मख्ख परिरहेका छन् । उनले भक्तपुर वितरण केन्द्रले कसरी राजश्ज उठाउँदै छ भनेर कहिले पनि फर्किएर हेरेको पाइँदैन । यसको प्रत्यक्ष मारमा भक्तपुरका ग्राहक परिरहेका छन् ।

यस्ता छन् उदाहरण
उदाहरण नं. १
भक्तपुर जगातीका कृष्ण किसीले घरमा राखिएको विद्युतको क्षमता बृद्धि गर्नु थियो । त्यसकारण उनले शुक्रबार मात्रै नेपाल विद्युत प्राधीकरण विद्युत वितरण केन्द्र दूधपाटी भक्तपुरमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा आइतबार १ बजेतिर विद्युत प्राधिकरणका कर्मचारी मिटरमा क्षमता बृद्धि गरिदिन किसीको घर आएका थिए । कर्मचारीले मिटर खोले । बाहिर ठिक थियो । तर, बाहिरको बक्स खोलेपछि केहीबेरपछि कर्मचारीले नै यो मिटर ठिक छ कि छैन आफुहरु नै क्लियर नभएको बताए । उनहिरुले भने अनुसार नै उनी नयाँ मिटर ल्याउन पुरानो मिटर बोकेर विद्युत प्राधिकरणतिर लागे ।

उनी त सोही दिन नयाँ मिटर आउँछ भनेर प्राधिकरण पुगेका थिए । तर, कार्यालय पुगेको आधा घण्टापछि उनीमाथि यस्तो आरोप लाग्यो, जुन उनले कल्पनासमेत गरेका थिएनन् । उनीमाथि नखाएको विष लाग्यो । अर्थात् उनीमाथि विद्युत चुहावट गरेको आरोप लाग्यो ।

यतिसम्मकी उनले अहिलेसम्म नगरेको कसुरवापत पनि ३० हजार जरिवाना गर्न खोजियो । उनले आफुले कुनै कसुर नगरेको बताउँदै गर्दा नेपाल विद्युत प्राधिकरणका भक्तपुर प्रमुख प्रज्वलमान श्रेष्ठले ‘तपाईले कुनै कसुर नगरेको भए ल त म तपाईलाई १५ प्रतिशत छुट गरिदिन्छु’ भन्ने जवाफ दिँदा उनी तिनछक्क मात्रै परेका छैनन्, कहिले नगरेको कसुरमा जरिवाना तिर्नुपर्ने बाध्यता आइपर्दा जिन्दगीभर गरेको इमान्दारीताप्रति नै पछूतो मान्न थालेका छन् ।

उदाहरण नं. २
भक्तपुर नगरपालिका वडा नं ८ लिवाली भक्तपुरकी मोहनकेशरी छेतलाले आफनो घरमा विद्युत बिग्रेको भन्दै नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र, भक्तपुरमा निवेदन हालिन् । विद्युत मिटरको मुख्य स्विच तल झरेर छिनछिनमा विद्युत बन्द हुने गरेको भन्दै मर्मत सुधारका लागि निवेदन दिइन् ।

उनको निवेदनअनुसार वितरण केन्द्रका कर्मचारी घरमा बिजुली बनाउन गए । तर विडम्वना, उनको विजुली नबनाई कर्मचारीले मिटर उठाएर वितरण केन्द्रको जिल्ला कार्यालय दूधपाटी भक्तपुरमा पठाए ।

मिटर लगेपछि उनी कार्यालय पुगिन् । तर उनलाई विद्युत चुहावट गरेको भन्दै ६५ हजार रुपैयाँं जरिवाना सहितको विल थमाइयो । उनले कार्यालयका हाकिमसँग बिन्ति बिसाइन् । बल्लबल्ल ४५ हजार रुपैयाँ जरिवाना तिराएर घरमा मिटर जडान गरियो ।

उदाहरण नं. ३
भक्तपुर नगरपालिका वडा नं ७ हर्कबहादुर मानन्धरले पनि भूकम्पले जीर्ण आफनो घर नजिककै भत्किएपछि तार चुडियो । उनको घरमा बिजुली बलेन । उनले पनि नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रमा निवेदन हाले । निवेदनअनुसार उनको पनि घरमा बत्ति बनाउन कर्मचारीहरु आए ।

तर उनको पनि त्यही घटना भयो, जुन घटना किसी र छेतलाले भोगेका थिए । । घर भत्केर तार चुडेर बती नबलेको बनाउन आएका कर्मचारीले उनको पनि मिटर उठाएर लगिदिए । र, उनलाई विद्युत चुहावट गरेको भनेर जरिवाना तिराइयो ।

धेरै छन् पीडित
किसी, छेतला र मानन्धर त उदाहरण मात्रै हुन्, हिजोआज भक्तपुरमा दैनिक दर्जनौं ग्राहकहरु यही पीडामा छन् । घरमा विद्युत बिग्रियो भनेर निवेदन हाल्नु भनेको अहिले घरमा चुहावट गरेको छु, पक्रन आउनुहोला भनेर निवेदन हाल्नु जस्तै भएको छ ।

नियमसंगत निवेदन हाली काम गराउँं भन्दा उल्टो अपराधी बन्नुपर्ने अवस्था छ । यसले बेनियम कर्मचारीलाई यतिकै घुस खुवाई काम गराउने परिपाटीलाई मलजल मिलेको पीडितको भनाई छ ।

घरमा कर्मचारी बिजुली बनाउन आउँदासम्म मिटर ठिक हुन्छ । तैपनि एक पटक केही भएको छ कि भनेर तपाई आफंैले अफिसमा देखाएर लानुहोस् । ठिक छ भने यही राखिदिउँला नभए नयाँ मिटरको पैसा तिरेर नयाँं मिटर राखिदिउँला भनी झुक्याएर चुहावटमा पार्ने गर्दै गरेको पाइएको छ ।

निरअराधी जति फस्दै
मिटर हराए वा मिटर बिग्रिए लगायतका जुनसुकै मुद्धालाई पनि विद्युत चुहावट अन्तर्गत एउटै कागजमा अपराध कवोल गराउँदा निरअपराध पनि अपराध कवोल गर्न बाध्य छन् । पहिला नै तयार पारिएको उक्त पत्रमा ‘विद्युत प्राधिकरणका कर्मचारी छड्के चेकजाँच गर्न आउँदा बिद्युत चुहावट गरेको पाइए र अपराध गरेकोले त्यो अपराध कसुर गरी तल उल्लेखित भए अनुसारको दण्ड जरिवाना रकम तिर्न मञ्जुर छ’ भन्ने भावको व्यहोरा उल्लेख छ ।

मिटरसँग सम्वन्धित सबै मुद्धाहरुलाई यसैमा सगोल गरी राख्दा बिद्युत चुहावट नगरेका निर्दोषहरु पनि बिजुली बाल्न अपराध कबोल गर्न बाध्य भइरहेका छन् । पहुँचअनुसार चुहावटको बिल बनाएर मनोमानी गर्ने भएकाले सामान्य जनता झनै बढी पीडित हुने गरेको पीडितहरुको भनाई छ ।

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र, भक्तपुरका प्रमुख प्रज्वलमान श्रेष्ठ विद्युत चुहावट नगरेको प्रष्ट भए पनि प्राविधिक कारणले विद्युत चुहावटमा पार्न आफूहरु बाध्य भएको बताउँछन् । ‘मिटर बिग्रेने बित्तिकै चुहावट गरेको हो भन्न सकिन्न तर मिटर बिग्रिने बित्तिकै चुहावटमा पर्छन्’ उनी भन्छन्, ‘त्यसकारण कोही निदोष पनि चुहावटमा परेर फसेका होलान् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...