आईपीएलमा सुपर ओभरमा दिल्लीद्वारा कोलकत्ता पराजित

287236

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा कोलकत्ताले दिएको १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा दिल्लीले १ विकेट गुमाएर १० रन जोड्दै कोलकत्तालाई ११ रनको लक्ष्य दिएको थियो । दिल्लीका ऋषब पन्तले ६ रन जोडे । जवाफमा कोलकत्ताले १ विकेट गुमाएर ६ रन मात्र जोड्न सक्यो । उसका आन्द्रे रसेलले ४ रन जोडे ।

सुपर ओभरमा खेल जानुअघि दिल्लीका युवा ब्याट्सम्यान पृथ्वी शले अर्धशतकीय इनिङ्स खेलेका थिए । शतक बनाउन एक रनले चुकेका पृथ्वी ५५ बलमा ९९ रन जोडेर आउट भए । यस्तै कप्तान श्रेयस आयरले ४३ तथा शिखर धवनले १६ रन जोडे । कोलकत्ताका कुलदीप यादबले दुई तथा लोक्की फेर्गुसन, आन्द्रे रसेल र पियुस चावलाले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो  । खराब सुरुवात गरेको कोलकत्ताका लागि आन्द्रे रसेल र कप्तान दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेले ।

रसेलले ६२ तथा कप्तान दिनेशले ५० रन बनाए । यस्तै क्रिस ल्यानले २०, पियुस चावलाले अविजित १२, रोबिन उथप्पाले ११ तथा कुलदीप यादबले अविजित १० रन जोडे ।

दिल्लीका हर्सल पटेलले २ तथा सन्दीप लामिछाने, अमित मिश्रा, कागिसो राबडा र क्रिस मोरिसले एक/एक विकेट लिए । 

कोलकत्ताविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए ।

जितसंगै दिल्लीले ३ खेलबाट ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ ।

कोलकत्ताले भने पहिलो हार व्यहोरेको छ । अघिल्ला २ खेल जितेको कोलकत्ताको पनि ४ अंक रहेको छ  । कोलकत्ता शीर्ष स्थानमा छ ।

प्रतिकृया दिनुहोस