मुम्बईको पहिलो जितमा बेंग्लोरको दोस्रो पराजय

Dill

बेंग्लोर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १२ औं संस्करणमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । गएराति भएको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ रनले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याएको घरेलु टोली बेंग्लोर २० ओभरमा ५ विकेट गुमाएर १८१ रनमा समेटियो । उसका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्सले अविजित ७० रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् ।

यसैगरी कप्तान विराट कोहलीले ४६ रन जोड्दा पार्थिव पटेलले ३१ रनको योगदान दिए । बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन जोडेको थियो । मुम्बईका कप्तान रोहित शर्माले ४८ रन जोड्दा सुर्यकुमार यादवले ३८ रनको योगदान दिए । यो जितसँगै मुम्बईले २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बईलाई दिल्ली क्यापिटल्सले हराएको थियो ।

कोहलीको कप्तानीमा रहेको बेंग्लोरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बेंग्लोरलाई साबिक विजेता चेन्नई सुपर किङ्सले हराएको थियो ।

 

प्रतिकृया दिनुहोस