फोटोकपीकै भरमा करोडौंको जग्गा पास, आखिर लापरवाही कसको ?

Jagga news 22

काठमाडौं । अधिकांस सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल प्रति अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले फोटोकपीको भरमा करोडौं पर्ने जग्गा खुसुक्क पास गरिदिएको पाइएको छ ।

त्यसरी फोटोकपीको भरमा मालपोत कार्यालयले पास गरिदिएको जग्गा हो साबिकको काठमाडौं महानगरपालिका वडा नं. १० तिनकुनेमा रहेको कित्ता नं. १६ र अर्काे कित्ता नं. २३२ को हो । जुन जग्गा शैलजा भट्टको हो । यो हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ मा पर्छ ।

काठमाडौंको तिनकुनेमा रहेको जग्गा त्यसै पनि अचाक्ली महंगो छ । तर, सो ठाउँको ५ आना ० पैसा ३ दाम र १ आना २ पैसा ३ दाम क्षेत्रफल रहेको जग्गा अधिकृत वारेसनामाको फोटोकपी पेश गरेकै आधारमा मालपोल कार्यालय डिल्लीबजारले अर्कैका नाममा पास गरेको पाइएको छ ।

शैलजा भट्टको नाममा रहेको सो जग्गा यही पुस २३ गते मालपोत कार्यालय डिल्लीबजारले अधिकृत वारेसनामाको फोटोकपीकै भरमा मिनबहादुर तामाङ, वीरबहादुर तामाङ, जितेन्द्र बिष्ट र सञ्जित थपलियाको नाममा पास गरिदिएको पाइएको हो ।

जुन जग्गाको अधिकृत वारेसनामा लिने व्यक्ति हुन् नुवाकोटका स्थायी बासिन्दा कपिल तिमिल्सिना । तर, तिमिल्सिनाले सो अधिकृत वारेसनामा बदर भएपछि सो जग्गा पास गरिदिएको भनी जिल्ला अदालतमा मुद्दा परेपछि मात्रै मालपोत कार्यालयले गरेको केही व्यक्तिसँगको मिलेमतोमा बद्मासीको रहस्य खुलेको हो ।

यस्तो थियो रामकहानी
पशुपति मन्दिरका भट्ट गणेश शास्त्रीका सन्तान हुन् शैलजा भट्ट । उनकै परिवारसँग पहिलेदेखि नै जोडिएका थिए कपिल तिमिल्सिना पनि । त्यही भएर विश्वासका आधारमा गणेश शास्त्रीका नाती गंगाधर भट्टका छोरा उदय भट्ट हलवेले आफु काम विषेशले अमेरिका जानुपर्ने भएकाले बलभद्रका नाती हेमप्रसादका छोरा कपिल तिमिल्सिनालाई २०६३ असार १८ मा अधिकृत वारेसनामा दिए ।

जुनबेला काठमाडौं महानगरपालिका वडा नं. १० को कित्ता नं. १६ र २३२ उल्लेख गरिएको थियो । तर, २०७० बैशाख ३० मा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाअनुसार अंशबण्डाका क्रममा सो जग्गा कित्ताकाट हुँदा कित्ता नम्बर फरक बन्यो ।

जुन जग्गा बिक्री गर्न कपिल तिमिल्सिनालाई दिइएको थियो, सो जग्गा समयमै बिक्रि गर्न नसकेपछि २०७२ बैशाख १८ गते शैलजा भट्टले अधिकृत वारेसनामा फिर्ता लिएकी थिइन् । तर, सो जग्गा अर्थात् अंशबण्डापछि कायम भएको कित्ता नं. ५९३ र ३५१ को जग्गा २०७४ पुस २३ गते फोटोकपीकै भरमा मालपोत कार्यालय डिल्लीबजारले मीनबहादुर तामाङ, वीरबहादुर तामाङ, जितेन्द्र बिष्ट र सञ्जित थपलियाको नाममा पास गरिदिएको छ ।

अझ चाख लाग्दो कुरा त के भने यो जग्गामा खानी तथा भु–गर्भ विभागले लामो समयसम्म ग्यास उत्पादन हुनसक्छ भनेर अधिकरण गरेर राखेको थियो । तर पछि सर्वाेच्च अदालतले सो जग्गामा यदी ग्यास निकाल्न सम्भव छ भने जग्गा अधिकरण गरी मुआब्जा दिनु, यदी सम्भव छैन भने जसको नामको जग्गा हो, उसैलाई भोगचलन गर्न दिनु भनेर फैसला गरेपछि मात्रै खानी विभागले भट्ट परिवारलाई फिर्ता दिएको थियो ।

सोही मौका पारेर तिमिल्सिना र मालपोत कार्यालयका कर्मचारीहरुको मिलेमतोमा सो जग्गा जग्गाधनीले नै थाहा नदिई ४ जनाको नाममा पास भएको छ ।

के छ नियममा ?
जग्गा प्रशासन निर्देशिका २०५८ को निर्देशन नं. १३१ मा ‘सक्कल अधिकृत वारेसनामा हराएमा नक्कलबाट कारोवार गर्नु हुँदैन’ भनेर उल्लेख गरिएको छ ।

त्यसैगरी निर्देशन नं. १३० मा ‘वारेसनामामा उल्लेख भएको सबै जग्गा बिक्री भएको अवस्थामा सक्कल अधिकृत वारेसनामा खिचि लिखत साथ राख्नुपर्छ’ भनी उल्लेख गरिएको छ ।

त्यति मात्रै होइन, कुनै पनि ठाउँमा फोटोकपी पेश गर्दा पछाडीपट्टी ‘सक्कल बमोजिम नक्कल ठीक छ’ भनी हस्ताक्षर गर्नुपर्छ । र, आवश्यक परेको बेला सक्कल पनि पेश गर्नुपर्छ ।

तर, त्यति बहुमुल्य जग्गा बिक्री गर्दा पनि मालपोत कार्यालय डिल्लीबजारले सक्कल मागेको पाइँदैन । यति बेला न त मालपोत कार्यालयसँग त्यतिबेला गरिएको सक्कल वारेसनामा छ, न त अधिकृत वारेसनामा लिने कपिल तिमिल्सिनासँगै छ ।

यसरी खुल्यो रहस्य
शैलजा भट्टका छोरा हुन् रमेश भट्ट । रमेश साह्रै सोझा छन् । उनीहरु पशुपति नाथ मन्दिरका भट्टका सन्तान भएकाले पनि पहिले ठाउँ ठाउँमा जग्गा जमिन थियो । भट्ट परिवारसँग नजिकको सम्बन्ध थियो कपिल तिमिल्सिनाको ।

भट्ट परिवारसँग राम्रै उठबस भएका कारण उनी विश्वासका पात्र बने । त्यही भएर तिमिल्सिनाकै सहयोगका अंशबण्डा नभएको ठाउँ ठाउँको जग्गा शैलजा भट्टले बिक्री गरेकी थिइन् । काठमाडौं गैरीधाराको करिव ३ रोपनी जग्गा पनि तिमिल्सिनाले नै बेचिदिएका थिए ।

पछि रमेश भट्टका छोरा शैलेस भट्टले आफ्नो अंश खोजी गर्न थाले । हाल अबैध तरिकाले बिक्री भएको तिनकुनेको जग्गा खानी विभागबाट फुकुवा गर्न शैलेस निक्कै लागेका थिए ।

सर्वाेच्चको फैसलाअनुसार खानी विभागबाट जग्गा फुकुवा भइसकेपछि शैलेसले आफ्नी हजुरआमा शैलजासँग सम्पर्क गरे । अनि उनी हजुर आमाकै सल्लाहमा मालपोत कार्यालय डिल्लीबजार पुगे । डिल्लीबजार पुगेर खोजी गर्दा शैलजा भट्टको नामको जग्गा त अर्कैको नाममा पास भइसकेको पाए । त्यो कुरा थाहा पाउँदा उनको होस हवासै उड्यो ।

घरमा सबै परिवारसँग बसेर सल्लाह गरे । अनि निष्कर्षमा पुगे अदालतमा मुद्दा हाल्ने । अनि उनी पुगे अदालतको ढोकामा । अहिले जिल्ला अदालतमा सो मुद्दा चलिरहेको छ । अदालतले शैलेसलाई वारेरनामा बदर भएको सक्कल सुचना र तिमिल्सिनालाई वारेसनामाको सक्कल पेश गर्न आदेश दिएको छ ।

के भन्छन् वादी प्रतिवादी ?
अदालतमा मुद्दा चलिरहेको अवस्थामा वादी र प्रतिवादी दुबैले एक अर्काले ठगी गरिरहेको आरोप प्रत्यारोप गरिरहेका छन् ।

शैलेस भट्ट आफ्नो पैतृक सम्पति तिमिल्सिनाले किर्ते गरेर पास गरेको बताउँछन् । ‘यो सरासर ठगी हो’ उनी भन्छन्, ‘अर्काको जग्गा फोटोकपी पेश गरेर पास गराए पनि कानुनले न्याय दिन्छ । किनकी मसँग सबै प्रमाण छ ।’

कपिल तिमिल्सिनाको भनाई अलिक फरक छ । उनी आफुलाई भट्ट परिवारले ठगी गरेको बताउँछन् । ‘मैले किर्ते गरेको छैन’ उनले निशान न्युजसँग भने, ‘मसँग सबै प्रमाण छ, अदालतमा पेश गर्छु ।’

 

प्रतिकृया दिनुहोस