सम्झनामा गणतन्त्रका महानायक : राजतन्त्रविरोधी आन्दोलनको अगुवा

Girija prasad koirala

काठमााडौं । संघीय लोकतान्त्रिक गणतन्त्रका महानायक भनिएका स्व. गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । गिरिजाप्रसाद कोइराला, नेपाली राजनीतिमा सधैं चर्चामा आउने नेता हुन् ।

नेपाली राजनीतिमा संयोजनकारी भूमिका खेलेर माओवादी द्वन्द्वलाई शान्ति प्रक्रिया हुँदै देशलाई संघीय गणतान्त्रिक मुलुकसम्म पुर्‍याउन कोइरालको योगदान मुलुकले कदापि बिर्सने छैन ।

पार्टी राजनीतिमा पनि उनको भूमिका सफल नै मानिन्छ । नेपाली कांग्रेसको लामो समयसम्म नेतृत्व गरेका उनलाई कार्यकर्तामुखी नेता मानिन्छ । पार्टी कमजोर हुँदा होस् या बलियो हुँदा होस् उनी सधैं राजनीतिको केन्द्रमै रहन्थे ।

कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासत जीवन बिताइरहेको समयमा वि.सं. १९८१ मा कोइरालाको जन्म भएको थियो । कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा छोरा गिरिजाप्रसादको पूरै जीवन राजनीतिमै बित्यो ।

नेकपा कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल गिरिजाप्रसाद कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई अब पनि दिगो शान्तिका रुपमा अगाडि बढाउन अहिलेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच उच्चस्तरको सहमति आवश्यक रहेको बताउँछन् ।

राजतन्त्रविरोधी अगुवा
युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि काँग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो । पहिले वैधानिक राजतन्त्रका समर्थक कोइरालाले नै झण्डै अढाइ सय वर्ष पुरानो राजतन्त्रविरुद्ध आन्दोलनको अगुवाइ गरे ।

लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रमै रहै । उनले १० वर्ष लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर नेतृत्व प्रदान गरे । जनआन्दोलनले उत्कर्ष हासिल गरेपछि २०६३ वैशाख ११ गते प्रतिनिधि सभाको पुनर्बहाली भयो र सात दलका नेताको समर्थनमा कोइराला पुनः प्रधानमन्त्री बने ।

कोइरालाकै नेतृत्वमा राजाका सबै अधिकार खोसिए र नेपाली सेनालाई संसद्को नियन्त्रणमा ल्याइयो । संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिए । लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि उनको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित नै छ । संवैधानिक राजतन्त्रको पक्षमा रहेको कांग्रेस पार्टीलाई उनी पार्टी सभापति हुँदा नै संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल बने ।

मजदुरदेखि राष्ट्राध्यक्षसम्म
नेपाली राजनीतिमा उनी नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष थिए । वि.सं. २०१७ मा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्रको अपहरण भएपछि उनले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौँ नेतासँग नजरबन्द र त्यसपछि काराबास सजाय भोगेका थिए ।

उनले चार वर्षको काराबकासपछि २१ दिन भोक–हडताल गरे । छुटेर उनी भारत प्रवासमा जाए । उनी २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भए । उनी लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि भए । २०४६ सालको जनआन्दोलनका बेला उनी नै महामन्त्री भए । र, २०४८ को आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री भए ।

२०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिस्टप्रति कडा रूपमा प्रस्तुत हुने कोइरालाको छवि ‘कम्युनिस्ट विरोधी’ नेताका रूपमा चित्रित थियो । तर झण्डै १६ वर्षको अवधिमा उनको राजनीतिक जीवनमा ठूलै परिवर्तन आयो । सुरुमा द्वन्द्वरत नेकपा माओवादीलाई निस्तेज पार्न चालेको कदमका कारण उनी त्यतिबेला कम्युनिस्टका लागि अनुदार व्यक्तिका रूपमा चित्रित भए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशमा सङ्कटकाल लगाई उनीलगायत अन्य संसद्वादी दलका नेतालाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा ‘जनयुद्ध’ लडिरहेको तत्कालीन नेकपा माओवादी पार्टीसँग समेत हातेमालो गरे ।

२०६३ कात्तिक २१ गते कोइराला तथा सात दलका नेताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग मिलेर जनविद्रोहको अन्त्य र संविधानसभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गरे । २०६३ मंसिर ५ गते सरकारको तर्फबाट प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा ‘हिंसा र अशान्ति’ को राजनीतिलाई विश्राम दिने कार्य भयो ।

पहिलो संविधानसभाको निर्वाचन गराएका कोइराला नेपालको पहिलो नागरिक राष्ट्राध्यक्ष बने । उनी प्रधानमन्त्री हुँदा नै संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लाने निर्णय ग¥यो र राजतन्त्रको अन्त्य भयो ।

विना रक्तपात २४० वर्ष पुरानो शाह राजतन्त्रलाई विस्थापत गर्न सफल बनेकाले कोइरालालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिएका छन् । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते शनिबार मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...