झापा गोल्डकप: थ्री स्टारलाई हराउँदै आयोजक झापा फाइनलमा

53566849 319718708681642 7235439204061151232 n

काठमाडौं । आयोजक झापा-११ चौंथो संस्करणको झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो । योसंगै झापाले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउन सक्यो ।

डोमालाल राजवंशी रंगशालामा निर्धारित समय र १५ मिनेटको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा झापाले थ्री स्टारलाई स्तब्ध बनायो ।

पेनाल्टीमा झापाका पुजन उपरकोटी, देवेन्द्र तामाङ र दिनेश थापामगरले गोल गरे । थ्री स्टारका रन्जित धिमालले मात्रै गोल गरे । झापाका कर्ण लिम्बु र हेमन गुरुङले पेनाल्टीमा गोल गर्न सकेनन् । कर्ण र हेमनको पेनाल्टी प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपाने रोकेका थिए ।

 

तर, थ्री स्टारका बुद्ध लिम्बु, रुपेश केसी र मिक्चेन तामाङले पेनाल्टीमा गोल गर्न सकेनन् । बुद्धको प्रहार झापाको गोलरक्षक दिनेश थापामगरले रोक्दा रुपेश र मिक्चेनको प्रहार बाहिरिएको थियो ।

अब झापाले उपाधिका लागि क्यामरुनी क्लब दाउफिन्स र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्नेछ ।

यसअघि झापाले नेप्लिज एकेडमी हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । यस्तै थ्री स्टारले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।

प्रतिकृया दिनुहोस