सामाजिक सञ्जालमा फैलिन थाल्यो ठगी धन्दा : लट्री परेको एसएमएस गर्दै, धमाधम पैसा लुट्दै

Thagi dhanda

प्युठान । ठगीको पनि अनेक उपाय हुन्छन् । त्यसका पनि पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत अनेकौं प्रलोभन देखाएर ठगी हुने गरेका छन् । सचेतना नअपनाए ठगिन पनि सक्छ ।

सचेतना अपनाउँदा ठगी हुनबाट जोगिन पनि सकिन्छ । यसरी नै लाखौंको ठगी हुनबाट प्यूठानकी एक महिला जोगिएकी छन् ।

प्युठान सरुमारानी –४ आर्ने टोलकी संगीता बिश्वकर्मा (नाम परिवर्तन) को मोवाइलमा रहेको इमोमा एउटा म्यासेज आउथ्यो । २५ लाख भारतीय रुपैयाँको चिठ्ठा परेको भन्दै पटकपटक इमोमा आउँथ्यो । उनले बुधबार प्राइम बैंकमा खाता पनि खोलिन् ।

उनले इमोमा आएको फोन अनुसार नै बैंक खाता खोलेकी थिइन् । भारतमा २५ हजार रुपैयाँ पठाउने र खाता नम्बर मागिएको थियो । उनले सोही अनुसार नै काम गर्दै गएकी थिइन् । तर, उनी बुधबार निशान न्युजकर्मीका सम्पर्कमा पुगिन् । अनि मात्रै उनी लाखौंको लोभमा २५ हजार ठगिनबाट जोगिइन् ।

यस्तो थियो कथा
संगीताको फोन नम्बरमा एउटा भारतीय मोबाईल नम्बर सेभ गरी कल गर्न भनिएको थियो । संगीताले भारतको नाम देखिएको इमोबाट आएको कल रिसिभ गरिन् ।

इमोमा पटकपटक म्यासेज र फोन आयो । कलमा भनियो, ‘पुरस्कारका लागि आफ्नो नागरिकताको फोटोकपी पठाउनुहोस् हामी आइएमइ गरी तपाईलाई रकम पठाइ दिने छौं ।’

संगीतालाई सो नम्बरमा फोन गरी बिस्तृतमा बुझेर रकम प्राप्त गर्न सुझावसमेत दिइएको थियो । तर, फोन गर्ने व्यक्तिले चिठ्ठाबारे कसैलाई नबताउन चेतावनी पनि दिएका थिए ।

उनलाई बैंकमा खाता खोल्न लगाईयो । त्यसपछि आफुले पैसा पठाउन ठेगाना दिने र त्यसको आधा घण्टामै २५ लाख भारु पठाईदिने भनियो । उनी दंग परिन् । २५ लाखको चिठ्ठा पर्दा दंग नपर्ने पो को हुन्छ र ? २५ लाख भारतीय रुपैयाँ हात पार्न माग गरिएको २५ हजार उनीसँग थिएन । उनले ऋृण काढेर २५ हजार जुटाइन् । सोही पैसा पाउन उनले हतारमा बुधबार बैंक खाता पनि खोलिन् ।

यसरी जोगिइन् उनी
उनले बैंक खाता खोलेर खाता नम्बर पनि पठाइन् । तर, भारतबाट पहिले २५ हजार रुपैया पठाएर मात्रै खाता नम्ब पठाउन भनिएको थियो । तर, उनी निशान न्युजकर्मीको सम्पर्कमा पुगिन् ।

उनले सो घटनाको सबै विवरण बताइन् । अनि निशान न्युजकर्मीले २० लाख उतै राखेर ५ लाख मात्रै पठाउनुस् न त भन्दा संगीतालाई नै बोल्न भनियो । आफु पत्रकार भएको जानकारी पाएपछि उनले बोल्न चाहेनन् । त्यसपछि मात्रै संगीताले आफु ठगिँदैछु भन्ने थाहा पाएकी थिइन् ।

कस्ता एसएमएस आउँछन् ?
तपाई पक्कै पनि फेसबुक, भाइबर, ह्वाट्स एप, इमो जस्ता सामाजिक सञ्जालहरु प्रयोग गर्नुहुन्छ । किनकी अहिले सामाजिक सञ्जालमा जोडिनेको संख्या दिनमा चौगुणा बढिरहेको छ ।

फेरि कतै तपाईलाई त्यस्ता सामाजिक सञ्जालमा चिठ्ठा परेको म्यासेज, तस्विर र भ्वाइस मेसेज त आएको छैन ? कि आएर पनि तपाई त्यसको शिकार भइसक्नु भएको छ ?

यदी त्यस्ता मेसेज तपाईलाई आएका छन् भने सजग हुनुहोस् । किनकी त्यस्ता म्यासेज, कलहरु तपाईलाई ठगीको शिकार बनाउने उद्देश्यले गरिएका हुन सक्छन् । प्रविधिको युगमा अपराधिक कार्यमा संलग्न हुने, ठगी गर्नेले इन्टरनेटको दुरुपयोग गर्दै ठगीको प्रयास गरेको खुल्दै आएको छ ।

पछिल्ला समयमा तपाईलाई लाखौंको चिठा परेको छ । ‘तुरुन्त सम्पर्क गर्नुहोस्’, तपाई करोडपति बन्दै हुनुहुन्छ’ जस्ता एसएमएस वा फोन गरेर पनि तपाईलाई ठगीको प्रयास गरिरहेका हुनसक्छन् । त्यसतर्फ सचेत रहन जरुरी भइसकेको छ ।

के भन्छन् सुरक्षा अधिकारी ?
प्युठानमा अन्य प्कारका ठगीका घटना प्रसस्तै भएका छन् ।तर, यस्ता ठगीका घटना धेरै भएका छन् । त्यसैले होला जिल्ला प्रहरी कार्यालय प्युठानमा ठगीको उजुरी परेको छैन । तर ठग्ने प्रयास भने भइरहेको देखिन्छ ।

भारतमा ‘कौन बनेगा करोडपति’को नाममा ठगी गर्नेहरु नेपालमा को बन्छ करोडपति सुरु भएपछि त्यसै बहानामा ठग्न सुरु गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय प्युठानले मेहनत विनाको आकस्मिक लाभमा विश्वास नगर्न अनुरोध गरेको छ ।

‘पार्सल, इमेल, सामाजिक सञ्जालबाट ठगीको प्रयासका घटना सुनेका छौं’, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले भने, ‘तर, प्युठानमा त्यस्तो उजुरी भने परेको छैन ।’

‘पसिनाको फलमा विश्वास गर्नुस्, रातारात धनी बन्ने, आकस्मिक रुपमा लाखौं रुपैयाँ कसैले दिन्छ भन्ने सोंच नराख्नुस्’, बुढाथोकीले भन्छन्, ‘कसैले कुनै पनि बहानामा आकस्मिक लाभका नाममा रकम माग्छ भने उजुरी गर्नुस्, हामी कारवाही गर्छौ, यसले अरुलाई पनि ठगीबाट बचाउँछ ।’

प्रहरी उपरीक्षक पौडेलले सामाजिक सञ्जालबाट हुने ठगीबाट जोगिन नचिनेका व्यक्तिहरुबाट साथी बन्न आउने अनुरोध अस्विकार गर्न सुझाव दिए ।
सामाजिक सञ्जालबाट ठगीको प्रयास बाहिर आएपछि फोन तथा इन्टरनेट सेवा प्रदायकस संस्था एनसेलले त्यसबारे सजग बनाउन सेवाग्राहीलाई म्यासेज समेत गर्ने गरेको छ ।
‘ह्वाटसप, भाइबर र इमो जस्ता एपहरुबाट ठूलो धनराशीको पुरस्कार परेको भन्दै फोन वा म्यासेजबाट ठगी गरेको पाइएकोले यस्ता प्रलोभनमा नपर्न र सचेत रहन सूचित गरिन्छ’, एनसेलले म्यासेजमार्फत सेवाग्राहीलाई सचेत गराएको छ ।

प्रतिकृया दिनुहोस