जिल्ला अदालतमा टीकापुर घटनाको सुनुवाइ सुरु

Adalat mudda faisala

धनगढी । तीन वर्ष अगाडि टीकापुरमा भएको हिंसात्मक घटनाको कैलाली जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ ।

बुधबार पहिलो दिन वादी र प्रतिवादी दुवै तर्फका वकिलले बहस गरेको स्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए । उनले निरन्तर सुनुवाइ रहेकाले बहसमा केही दिन लाग्न सक्ने बताए ।

पहिलो दिन वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र लक्ष्मीकिशोरी शर्मा तथा प्रतिवादीको तर्फबाट अधिवक्ता गंगाराम पाध्याय, मिलन राई लगायत सात जनाले बहस गरेका थिए ।

काठमाडौंबाटसमेत वादी र प्रतिवादी दुवैतर्फबाट बहसका लागि अधिवक्ताहरु आएको जनाइएको छ । टीकापुर घटनाको निरन्तर सुनुवाइ शुरु भइसकेकाले अब न्याय निसाफको छिनोफानो हुन धेरै समय नलाग्ने अधिवक्ता पाध्याय बताउँछन् । ‘बहस सकिने बित्तिकै फैसला हुन्छ’, उनले भने ।

स्रेस्तेदार कठायतले पनि टीकापुर घटनाको छिनोफानो अब चाँडै हुने बताए । ‘बहस सकिएपछि केही थप गर्नुपर्ने देखिएमा त्यो बुझ्ने काम हुन सक्छ’, उनले भने, ‘होइनभने, सीधै फैसला हुनेछ ।’

यसअघि, वादी र प्रतिवादी दुवैतर्फबाट गरेर ७२ जनाको बकपत्र गरिएको थियो । पहिलो सुनुवाइमा वादी र प्रतिवादी दुवै पक्षको उपस्थिति भएको जनाइएको छ । अर्को सुनुवाइ बिहीबार तोकिएको छ ।

थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा हिंसात्मक झडप हुँदा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

घटनामा संलग्न रहेको भन्दै ५८ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । जसमध्ये, प्रतिनिधिसभा सदस्य रेशम चौधरी, लक्ष्मण थारु, लाहुराम चौधरी लगायत २७ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकामध्ये दुई नाबालकलाई सुधार गृहमा पठाइएको छ भने २५ जना पुर्पक्षका लागि कारागारमा छन् ।

 

प्रतिकृया दिनुहोस