कार्यदलको म्यादबारे नेकपा सचिवालय अनिर्णित, भोलि फेरि बैठक बस्ने

Nekapa

काठमाडौं । सांगठनिक एकीकरणको निम्ति सुझाब प्रस्तुत गर्न गठित कार्यदलको म्यादबारे नेकपा सचिवालय अनिर्णित भएको छ।

कार्यदलका सदस्यहरु समेतको उपस्थितिमा विहिवार सचिवालयको बैठक बसेको थियो । बैठकमा कार्यदलका सदस्यहरुले कार्यदलले अहिलेसम्म गरेको कामका बारेमा, समस्याको बारेमा, आजको आवश्यकताको बारेमा, प्रतिवेदनका सन्दर्भमा आ आफ्ना विचारहरु प्रस्तुत गरे, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘उहाँहरुको विचार र सुझाबहरुलाई सचिवालयले सुनिसकेपछि उहाँहरुलाई बैठकबाट बिदा दिएर सचिवालयको बैठकमा त्यसबारे छलफल गर्‍यौं।’

कार्यदलका सदस्यले एक हप्ता म्याद थप्न आग्रह गरेका थिए। तर, सचिवालयले यसबारे निर्णय गर्न सकेन। सचिवालयको बैठक जारी छ। प्रवक्ता श्रेष्ठले भोलि बिहान ९ बजे बस्नेगरी सचिवालय बैठक आजका लागि स्थगित भएको जानकारी दिए । 
 
सचिवालयमा आफ्नो धारणा राखेर बाहिरिएका कार्यदलका सदस्यहरुले एक हप्ता समय थप भए बाँकी काम सम्पन्न गर्ने बताएको प्रतिक्रिया दिएका छन्।

ुकार्यदलका सदस्यहरुले आफ्नो राय दिएका छौं। कार्यदलका प्रायः सबै सदस्यहरुको भनाइ थियो, यो बीचमा हामीले कार्य सम्पन्न गर्नुपर्थ्यो, कार्यदल सदस्य योगेश भट्टराईले भने, तर, विभिन्न कारणले हुन सकेन। तर, अब छिटो सम्पन्न गर्नको लागि कार्यदललाई एक हप्ताको समय माग गरेका छौं।

मागिएको समय प्राप्त भयो भने कार्यदललाई दिइएको जिम्मेवारी पूरा गर्दै सिफारिस सहितको प्रतिवेदन बुझाउँछौं भनेर ससद्यहरुले भनेको भट्टराईले बताए। सचिवालयले के निर्णय गर्छ भन्ने कुराले अब कसरी अगाडि बढ्ने भन्ने कुरा निश्चित हुन्छ, उनले भने।

गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो। उसलाई १० दिनभित्र बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको छ।

कुनै बेला तीन महिनामा सम्पन्न नभएको काम पनि एक दिनमै पनि हुनसक्छु, थप समय माग्नुको औचित्य खुलाउँदै भट्टराईले भने, एक हप्ता समय प्राप्त भयो भने चमत्कारिक ढंगले काम गर्छौं। अघिल्लो सचिवालयको बैठकले कार्यदलको सदस्यसहितको बैठक बस्ने निर्णय गरेपछि आज बैठक बसेको थियो।

 

प्रतिकृया दिनुहोस