फेरि कार्यदलतिरै फर्कियो नेकपा सचिवालय, बिहीबार कार्यदलसँग सामुहिक छलफल हुने

Ncp meeting baluwatar

काठमाडौं । कार्यदलमा सहमति बन्न नसक्दा शीर्ष तहबाटै अड्किएको एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउने मनस्थितीमा पुगेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि कार्यदलपट्टि नै फर्किएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल गरेर पार्टीको सांगठनिक एकीकरणसम्बन्धी नीतिबारे निर्णय लिने निचोड निकालेको छ ।

बैठकले कार्यदलले दिएको प्रतिवेदनलाई टुंगो लगाउन कार्यदलका सदस्यहरुसँगै आगामी विहीबार सामूहिक छलफल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । आगामी बैठकमा कार्यदलले दिएको प्रतिवेदनका आधारमा आवश्यक नीति निर्माण र निर्णयका लागि कार्यदल सदस्यहरुसँग सामूहिक छलफल गर्ने निर्णय भएको हो ।

नेकपाले पार्टी एकता टुंग्याउन गठन गरेको रामबहादुर थापा बादल नेतृत्वको कार्यदल भित्रै विवाद हुँदा पार्टी एकता प्रक्रिया नै अड्किएको थियो । कार्यदलले प्रतिवेदनलाई पूर्णता नदिइ नै सचिवालयमा बुझाइसकेको छ ।

नेकपाले पार्टीको सांगठनिक एकता टुंगो लगाउने जिम्मासहित सचिवालय सदस्य थापा र महासचिव विष्णु पौडेलसहितको कार्यदललाई दिएको थियो । तर यो कार्यदल आफैँ भित्रको विवादका कारण अल्मलिएको थियो । विवादकाबीच कार्यदलले सचिवालयलाई अधुरो प्रतिवेदन बुझाइसकेको छ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश मुख्यमन्त्री भएकालाई पनि प्रदेश कमिटीको जिम्मा दिएको भन्दै त्यसलाई सच्याउन अडान लिएका थिए । त्यहीकारण कार्यदलले अनिर्णित भएर अधुरै प्रतिवेदन बुझाएको हो ।

 

प्रतिकृया दिनुहोस