बिना नाम राणा र लोहनी मिलन शुक्रबार, एकता प्रक्रियाबाट थापा रिङ आउट

Rpp yekata

काठमाडौं । ‘पूर्व पञ्चहरु मिल्नु र फुट्नुमा कुनै कारण चाहिँदैन, मात्र नेताहरुको मन मिले पुग्छ’ भनिन्छ । हुन पनि व्यवहारमा त्यस्तै देखिएको छ ।

एउटै सिद्धान्त बोक्ने भए पनि नेताहरुको जुँगाको लडाइका कारण पूर्व पञ्चहरु छिनमै मिल्छन् र छिनमै टुक्रिन्छन् । यो विगतले देखाएको एउटा सत्य पनि हो ।

अहिले फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एक हुन लागेका छन् ।

२०७३ फागुन ६ मा एकता महाधिवेसन हुँदा कमल थापा अध्यक्ष बने । तर, त्यसप्रति असहमति जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले त्यसको एक महिनापछि अर्थात् चैत १६ मा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टी गठन गरे ।

डा. लोहनीले पार्टी गठन गर्दा पार्टीले राजतन्त्र स्वीकार गरे । कमल थापाको लाइन पनि त्यही नै थियो । मात्र त्यति बेला पूर्ववतः सहमति अर्थात् नेतृत्व चक्रिय प्रणालीबाट गरिने भन्ने थियो, त्यसलाई कार्यान्वयन नगरिएकोमा डा. लोहनी लगायतका नेताहरुको आपत्ति थियो ।

पार्टी एकताकै बेला शीर्ष नेताहरुबीच भावनात्मक रुपमा एकता भएको थिएन । नेताहरुबीच सरकारमा सहभागीताको विषयमा खटपट चलिरह्यो । त्यसको परिणाम स्वरुप २०७४ भदौं २२ गते पशुपति समशेर राणाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बन्यो ।

त्यति बेला राणाले नयाँ पार्टी बनाउनुको एउटै मात्र कारण थियो आफ्ना समर्थक विक्रम पाण्डे, सुनीलबहादुर थापा र दिपक बोहोरालाई मन्त्री बनाउनु थियो । भनिन्छ त्यतिबेला पाण्डे, थापा र बोहोरालाई मन्त्री नबनाएको भए राणा क्याम्प नै खाली हुने अवस्था थियो । त्यही भएर पनि राणाले चुपचाप पार्टी फुटाएका थिए ।

एउटै बिचार अंगाले पनि चिराचिरा भएका राप्रपा नामधारी पार्टीको नाममा गत स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिँदा परिणाम शुन्य सरह बनेको थियो । बल्लबल्ल प्रतिनिधिसभामा कमल थापाको राप्रपाले झापामा १ सिट जितेर नाम ठड्यायो । तर, थ्रेस होल्ड कटाउन नसक्दा उसको हालत स्वतन्त्र मात्रै बन्यो ।

पार्टी फुटाउँदा निक्कै खोक्ने गरेका प्रजातान्त्रिक र राष्ट्रवादीका नेताहरु निर्वाचनको परिणामपछि ‘नुन खाएको कुखुरा’ झै बने । त्यसयता पूर्व राजा ज्ञानेन्द्र शाह पनि राप्रपाहरुलाई मिलाउन लागिपरे । तर, उनको पनि केही बल नपुगेपछि एकताको कुरा कुरामै सीमित बनेको थियो । अहिले फेरि अचानक विना नाम राणा र लोहनीको पार्टी आगामी शुक्रबार एक हुँदैछन् ।

राणा र लोहनीबीच केन्द्रिय समिति, केन्द्रिय कार्य सम्पादन समिति र अन्य समिति दुई नेताको सहमतिमा गठन गरिने सहमति बनेको छ । पार्टी महाधिवेसनसम्म राणा र लोहनीको हैसियत बराबर रहने सहमति बनेको राप्रपा राष्ट्रवादीका सहायक प्रवक्ता जनकराज पाठक बताउँछन् ।

पार्टी एकता घोषणाको मिति नजिकिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा भब्य कार्यक्रम गरेर एक भएको घोषणा हुँदैछ । तर, अहिलेसम्म पार्टीको नाम के रहने भन्ने टुंगो लाग्न सकेको छैन । एकतापछि पार्टीको नाम के रहने भन्ने विषयमा अझैं सहमति बन्न सकेको छैन । चुनाव चिन्ह भने हलो रहने निश्चित भइसकेको छ ।

थापा बाहिरै
प्रतिनिधिसभामा उपस्थिती जनाएको पार्टी हो राप्रपा । यसका महामन्त्री राजेन्द्र लिङदेनले झापा ३ बाट ४४ हजारभन्दा बढी मत ल्याएर नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

राप्रपाले विभाजनको चोट खेप्दाखेप्दै पनि नेपालगञ्ज उपमहानगरपालिकासहित ४ वटा गाउँपालिकामा आफ्नो कब्जा जमाउन सफल भएको थियो भने ३ वटा नगरपालिकामा उपमेयर जित्न सकेको थियो । तर, प्रजातान्त्रिक र राष्ट्रवादीले भने निर्वाचनमा शुन्य परिणाम ल्याए । अर्थात् कुनै पनि स्थानीय निकायमा उपस्थिती जनाउन सकेनन् ।

थोरबहुत स्थानीय निकायमा प्रतिनिधित्व जनाएको कमल थापाको पार्टी राप्रपा भने यो एकता प्रक्रियाबाट बाहिरै बसेको छ । ‘पहिले एकताको कुरा चले पनि सिद्धान्तमा कुरा नमिल्दा लामो समयदेखि तिन वटा पार्टीको एकता प्रक्रिया ठप्प थियो’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ भन्छन्, ‘दुई वटा पार्टी एकता हुँदैछ भनेर मिडियामार्फत थाहा भयो, अन्य कुरा थाहा छैन ।’

कतिपयले थापा बाहिर बसेपछि चौसव्यञ्जनमा नुन नहाले त्यसको महत्व नहुने ठानिएझैं राणा र लोहनीको एकतामा थापाको संलग्नता नहुनुलाई ‘चौरासी व्यञ्जनमा नुनको अभाव’ रुपमा लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...