अनसनरत डाक्टर केसीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग, यस्तो छ जारी गरेको विज्ञप्ति

Dr govinda kc

आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् । ‘आफ्नै निर्णयबाट विचलित भएकाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने हाम्रो विश्लेषण हो’ उनका सहयोगी जीवन क्षेत्रीले भने ।

डा. केसी १७ औं दिनदेखि अनसनरत छन् र उनको तर्फबाट क्षेत्रीले नै लिखित वक्तव्य पढेका थिए । आफूसँग भएको सहमति विपरित विधेयक पास भएको भन्दै डा. केसीको विज्ञप्तिमा यो जनतामाथि नै धोका भएको उल्लेख गरिएको छ ।

डा. केसीले अनसन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गरेका छन् र आमरन अनसन कायमै राख्ने बताएका छन् ।

डा. केसीका सहयोगी क्षेत्रीले सबै माग पुराभएको भन्ने सकार र सत्तारुढ दल नेकपाको दाबी खण्डन गरे । उनले भने, ‘सम्बन्धनसम्बन्धी बुँदामा जुन बुँदा थपिएको छ, त्यहाँ सरकारको बद्मासी झल्कन्छ । यसले मेडिकल शिक्षा सुधार हुँदैन ।’

यस्तो छ डा. केसीले जारी गरेको विज्ञप्ति

आदरणीय आम नागरिक, दाजुभाइ तथा दिदीबहिनीहरु

नेपालको स्वास्थ्य र चिकित्स शिक्षा क्षेत्रको सुधार तथा सुशासनका लागि हामी निरन्तर संघर्षरत रहेकोमा हाम्रो विगत सात वर्षको संघर्षको प्रतिफल स्वरुप राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी हुने अवस्थामा पुगेको थियो। यसबीच सरकार आफैंले गठन गरेको विज्ञहरुको उच्चस्तरीय कार्यदलको प्रतिवेदनका साथै यस अगाडि सरकारहरुले जारी गरेका अध्यादेशहरुसमेतबाट दीर्घकालीन सुधारका लागि कस्तो ऐन आउनुपर्छ भन्ने तय भइसकेको अवस्था थियो।

त्यसै आधारमा यस अगाडि १५ औं सत्याग्रह टुंग्याउने क्रममा नेपाल सरकारसँग बुँदागत सम्झौता भएको थियो। तर उक्त विधेयक पारित गर्ने काम अन्तिम अवस्थामा आएपछि प्रतिनिधि सभामा सत्तारुढ दलले जालझेल र जबर्जस्ती मात्रै गरेन, प्रधानमन्त्री तथा संसदीय दलको नेताले गराएको सम्झौता प्रतिकुल हुने गरी विधेयक पारित गर्यो। यसले सरकार तीन करोड नागरिकको गुणस्तरीय र सर्वसुलभ सेवा पाउने अधिकारलाई भन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजहरुको स्वार्थलाई दिएको पुष्टि भएको छ।

त्यसले सम्पूर्ण नेपाली नागरिकहरुमाथि नै सुनियोजित रुपमा धोका भएको छ। त्यसैले हामीले पौष २५ गतेदेखि शुरु गरेको सत्याग्रहलाई जारी राख्ने जानकारी गराउँदै तथा चिकित्सा शिक्षा विधेयकका अतिरिक्त हामीले राखेको बाँकी छवटा मागहरु पूरा गर्न स्मरण गर्छौं। तसर्थ आफैंले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री के पी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ।

प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मुल्य राष्ट्रले चुकाइरहन पर्नु दुर्भाग्यपूर्ण कुरा हो। साथै, आज सत्याग्रहको पक्षमा प्रदर्शन गरिरहेका नागरिकहरुलाई धरपकड र गिरफ्तार गरिएकोमा तत्काल सकुशल रिहाइको माग गर्दै हाम्रो अभियानमा सहभागी हुन सबै नागरिकहरुलाई खूला अपिल गर्दर्छौं।

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७५ माघ ११

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...