संसदका दुबै सदनले विजनेस दिएसँगै संसदीय समितिहरु सक्रिय

Samsad

काठमाडौं । संघीय संसदका दुबै सदनले विजनेस दिएसँगै संसदीय समितिहरु सक्रिय भएका छन् ।

आगामी फागुन २१ गते भित्र संशोधन गर्नु पर्ने संविधानसंग बाँझिएका बिभिन्न ऐन कानुनसँग सम्बन्धी विधेयक सरकारले अघि बढाएपछि विधेयकमाथिको छलफलका लागि समितिहरुको बैठक दैनिक जसो बसिरहेको छ ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति विधेयकमाथिको छलफलमा केन्द्रित छन् ।

कानून समितिमा केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत विषयमा छलफल हुँदैछ । सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा ७ जना मन्त्री र सचिवलाई बोलाएको समिति सचिवालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, शिक्षा, विज्ञान प्रविधीमन्त्री गिरिराजमणि पोखरेल, शहरी विकासमन्त्री इस्तीयाक राई र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई बोलाएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई पनि आफ्नो मन्त्रालय मातहत पर्ने विषयमा छलफलका लागि बोलाएको पोखरेलले जानकारी दिए ।

मन्त्री सँगै सात वटै मन्त्रालयका सचिवलाई पनि बोलाएको समितिले जनाएको छ । भोलि प्रधानमन्त्री कार्यालय सहितका ६ वटा मन्त्रालयले तय गरेका विषयमा छलफल गर्ने कार्यसूची तय भएको समिति सभापति पोखरेलले बताए ।

सरकारले ५६ वटा विषय समेटेर केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक प्रतिनिधि सभाको विधेयक शाखामा गत पुष ९ गते दर्ता भएको थियो । यस्तै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा प्रदेश लोक सेवा आयोगको काम कर्तव्य र अधिकार सम्वन्धी विधेयकमाथि छलफल हुँदै छ ।

विहान साढे ११ बजे बस्ने बैठकमा आज संसोधन कर्तालाई बोलाएको समिति सचिव मनोज कुमार गिरीले जानकारी दिए । समितिले यसअघि हिजो दुई चरणमा बैठक गरेर सरोकारवालासँग छलफल गरेको थियो ।

राष्ट्रिय सभा कै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा तहगत संरचनामा विकासको समन्वय विषयमा छलफल हुँदैछ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्वन्ध समितिमा नागरिक उड्ययन सम्वन्धी उपसमितिले तयार बनाएको प्रतिवेदनमाथी छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस