कांग्रेस सांसदले गरे संसद अवरुद्ध, १५ मिनेट संसद स्थगित

Sansad abarudh

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि दुई तिहाईको दम्भ देखाएको आरोप लगाउँदै संसद अवरुद्ध गरेको छ ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ । सोही क्रममा आज पनि कांग्रेस सांसदहरुले संसद अवरुद्ध पारेका छन् ।

संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिएका थिए । सो समयमा सिंहले ‘संघीय सरकारले चलाउने जबसम्म हाउसले जानकारी दिदैन, तबसम्म संसद चल्न नदिने हामी बाध्य हुनेछौं’ भने पछि कांग्रेस सांसदहरुले नारावाजी सुरु गरेका थिए ।

उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताएका थिए । सभामुख कृष्णबहादुर महराले पटकपटक बस्न आग्रह गर्दा पनि नारावाजी भइरहेपछि १५ मिनेटका लागि संसद स्थगित भएको छ ।

सभामुख महराले कांग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै आआफ्नो ठाउँमा बस्न सांसदहरुलाई आग्रह गरे । तर उनीहरुले रोष्टम नछाडेपछि संसदको कारबाही अघि बढ्ने बताए ।

प्रतिकृया दिनुहोस