नेवि संघको जिल्ला अधिवेसनमा नेताहरुको रडाको, मञ्चमै हात हालाहाल

Nebisang okhaldhunga

ओखलढुंगा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र मौलाउँदो गुट छताछुल्ल भएको छ । त्यो पनि भातृसंगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन उद्घाटन सत्रमा ।

उद्घाटन सत्रमा कसलाई प्रमुख अतिथि बनाउने भन्ने विषयमा विवाद भएको थियो । अधिवेशन उद्घाटन सत्रमा असन्तुष्ट पक्षका नेताहरुले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक गर्नुपर्ने नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने माग गरेपछि विवाद सुरु भएको थियो ।

सोही विवाद बढ्दै जाँदा माउ पार्टीकै नेताहरु हातपातमा उत्रिएका थिए । उद्घाटन सत्रमै विवाद भएपछि माउ पार्टी काग्रेस नेताबीच कुटाकुट भएको छ । कार्यक्रम सुरु हुँदा जिल्ला सभापति प्रदिप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद बढेको थियो । त्यति मात्रै होइन,आफु निकटलाई नेतृत्व दिन लागेको भन्दै अधिवेसन उद्घाटन नहुँदै विवाद उठेको थियो ।

मञ्चमै भएको कुटाकुटमा कांग्रेस नेता बालकृष्ण दाहालको चस्मा फुटेको छ भने आँखामा चोट लागेको छ । पूर्व सभापति गोमा केसी पनि कुटिएका छन् । प्रतिनिधि एकपक्षीय बनाएर आफु अनुकूल नेतृत्व चयन गर्न खोजेको भन्दै दाहाल र केसीले मञ्चमै पुगेर कार्यक्रम रोक्न माग गर्दा झडपको अवस्था आएको थियो ।

मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरु बालकृष्ण दाहाल, लिलाबल्लभ दाहाल काका र पूर्व सभापति गोमा केसीबीच हात हालाहाल भएको थियो । झडपपछि असन्तुष्ट पक्षले कार्यक्रम बहिष्कार गरेका छन् ।

कुटाकुट भएपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साझ नै पत्रकार सम्मेलन नै गरेका थिए भने केन्द्रीय प्रतिनिधि तोकिएका पवन नेपालीले विधि मिचेर पार्टीले हस्तक्षेप गरेको आरोप लगाउँदै अधिवेशन स्थगनको विज्ञप्ती निकालेका थिए । त्यसपछि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अर्का प्रतिनिधि खटाएर अधिवेशनको बन्दसत्र चलाएका थिए ।

प्रतिकृया दिनुहोस