कमल थापा भन्छन्, धर्म परिवर्तनले धार्मिक द्धन्द्ध निम्त्याउँदैछ

Rpp aviyan

काठमाडौं । हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनजागरण अभियान थालेको छ ।

सो अभियान अन्तर्गत सोमबार देशव्यापी घरदैलो कार्यक्रमको शुभारम्भ गरेको छ । सो अभियान सफल पार्न आमजनताको उत्साहजनक सहभागीता रहेको राप्रपाको भनाइ छ । सो अभियान मंगलबार सकिनेछ ।

राप्रपाले माघ १३ देखि १५ गतेसम्म देशका सबै नगरपालिका र गाउँपालिकामा हिन्दु राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण सभा गर्दैछ । त्यसको तयारी स्वरुप दुई दिनसम्म घरदैलो कार्यक्रमको आयोजना गरेको हो ।

राप्रपा अध्यक्ष कमल थापा गृह जिल्ला मकवानपुरको हेटौंडामा आयोजित विभिन्न स्थानको घरदैलोमा सहभागी भए । घरदैलोको शुभारम्भ गर्दै अध्यक्ष थापाले केही वर्ष यता अत्याधिक रुपमा भइरहेको धर्म परिवर्तन राष्ट्रको लागि खतरा भएको बताएका छन् ।

धर्म परिवर्तन कायम रहिहे नेपालमा धार्मिक द्धन्द्ध हुने खतरा बढ्ने थापाको भनाई छ । ‘केही वर्षयता हिन्दु, बौद्ध, तथा किराँतजस्ता सनातन धर्ममाथि योजनाबद्ध र सांगठनिकरुपमा आक्रमण भइरहेको छ । लोभलालचमा पारेर अरबौं रुपैयाँ खर्च गरी धर्म परिवर्तन गराउने काम भइरहेको छ’ थापाले भने, ‘नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरिनुपर्ने पर्छ । यसका लागि राप्रपाले देशव्यापी अभियान सञ्चालन गरेको हो ।’

अभियानका लागि राप्रपा नेता एवं सांसद राजेन्द्र लिङ्देन झापाको भद्रपुर नगरपालिका र हल्दिबारी गाउँपालिकामा सहभागी भए । अन्य नेताहरु पनि जिल्ला जिल्लामा भएको अभियानमा सहभागी भएका छन् ।

राप्रपाले सोमबार देशका ७७ वटै जिल्लामा घरदैलो कार्यक्रम सम्पन्न गरेको र सो कार्यक्रममा जनताले उत्साह देखाएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस