म्याद थपिएको विरोधमा देउवाको घरमै दिए विद्यार्थीले धर्ना

Ne bi sang dharna

काठमाडौं । नेपाल विद्यार्थी संघको म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्दावाद’को नारा लगाएका थिए । 

माइक्रो बससमेत रिजर्भ गरेर बुढानिलकण्ठ पुगेका उनीहरुले देउवा निवास अगाडि धर्ना दिएका हुन् । दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवास वसरपर सुरक्षा तैनाथी बढाइएको छ ।

विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो । तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ । पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरु विरोधमा छन् ।

नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो । तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद यही माघ २ गते सकिएको छ ।

नेविसंघका उपाध्यक्षत्रय सञ्जयकुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै पदबाट राजनीनामासमेत दिइसकेका छन् ।

यसअघि पटक–पटक म्याद थप भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविसंघको अधिवेशन सम्पन्न भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस