नेपाल आयल निगम सञ्चालनको जिम्मा पाए पौडेलले

Surendra paudel oil nigam

काठमाडौं । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तगीपछि निमित्तको भरमा चलेको नेपाल आयल निगमले बल्लबल्ल नेतृत्व पाएको छ ।

सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नेपाल आयल निगम सम्हालने जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धामार्फत कार्यकारी निर्देशक चयनका लागि आवेदन मागेको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए ।

१२ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । तीमध्ये मन्त्रिपरिषदले सोमबार पौडेललाई नै कार्यकारी निर्देशकको लागि छनोट गर्‍यो ।

पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । उनले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए । आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको श्रेय पौडेललाई जान्छ । उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

प्रतिकृया दिनुहोस