राजदूतमा सिफारिस पाँच जना बारे उजुरी आह्वान

Sunuwai2817

काठमाडौं । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि सरकारद्वारा राजदुतका लागि सिफारिस पाँच जनाका बारेमा उजुरी आह्वान गरेको छ ।

समितिले आज सार्वजनिक सूचना प्रकाशित गरी फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना, स्विजरल्याण्डका लागि मणिप्रसाद भट्टराईलाई र थाईल्याण्डका लागि सिफारिस गणेशप्रसाद ढकालको बारेमा उजुरी आह्वान गरेको हो ।

मन्त्री परिषदको गत पुस ६ गते बसेको बैठकले उहाँहरुलाई विभिन्न देशको राजदूतमा नियुक्त गर्नका लागि सिफारिस गरी सुनुवाई गर्न संसदीय सुनुवाई समितिमा पत्राचार गरेको थियो । समितिले आजबाट लागू हुने गरी १० दिनसम्म प्रस्तावित राजदूतहरुमाथि उजुरी आह्वान गरेको छ ।

उहाँहरुका बारेमा कुनै उजुरी भएमा यही पुस २८ गते सम्ममा समितिको कार्यालय तथा देशभरका सवै जिल्ला प्रशासन कार्यालयबाट उजुरी पठाउन सकिने व्यवस्था गरिएको समितिले जनाएको छ ।

संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि सम्बन्धित देशमा प्रस्तावित राजदूतको एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले पत्राचार गर्नेछ । सम्बन्धित देशले एग्रिमो पठाएपछि प्रस्तावित राजदूतलाई राष्ट्रपतिले राजदुतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिकृया दिनुहोस