कर्मचारी समायोजन प्रक्रिया सुरु, एक लाखको विवरण सार्वजनिक गरिँदै

Samanya prasasan mantralaya

काठमाडौं । मुलुकमा संघीयता लागू भएको तीन वर्षपछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया सुरु भएको छ ।

सरकारले स्वीकृत गरी पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै कर्मचारी समायोजन प्रक्रिया सुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै सरकारले अध्यादेशलाई राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याएको हो । सरकारले संविधानको धारा ३०२ को उपधारा ३ बमोजिम कर्मचारी समायोजन प्रक्रिया सुरु गरेको हो ।

संविधानको सो धारामा संविधान प्रारम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई नेपाल सरकारले कानुनबमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सक्ने भन्ने व्यवस्था गरिएको छ ।

अध्यादेश लागू भएसँगै निजामतीतर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र अन्य संगठित संस्थाका २ हजार गरी करिब १ लाख ६ हजार कर्मचारीलाई समायोजन प्रक्रियामा सामेल गराउनेगरी कार्य प्रारम्भ गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।

अब कर्मचारी समायोजन प्रक्रिया सुरु भयो, सबै कर्मचारी समायोजनका लागि तयारी अवस्थामा बस्नुपर्ने सचिव थपलियाको भनाई छ । समायोजन प्रक्रियामा राष्ट्रसेवकका रूपमा रहेका सबै कर्मचारीलाई संलग्न गराइनेछ ।

सचिव थपलियाका अनुसार अब देशभरका तीनवटै तहको संगठन संरचना र दरबन्दीको अन्तिम टुंगो लगाइनेछ । त्यसपछि सफ्टवेयरमार्फत सबै कर्मचारीको विवरण वेबसाइटमा सार्वजनिक गरी समायोजन प्रक्रियामा सामेल हुन आह्वान गरिने सचिव थपलियाले बताए ।

प्रतिकृया दिनुहोस